काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक सुरु हुनासाथ श्रम संस्कृति पार्टीका सांसदहरूले विरोध जनाएका छन्।
बैठक प्रारम्भ हुनेबित्तिकै पार्टीका अध्यक्ष हर्कराज राईसहितका सांसदहरूले आफ्नो आसनबाट उठेर सरकारविरुद्ध लेखिएका प्लेकार्ड देखाउँदै सभामुखको वेल घेराउ गर्न पुगेका थिए। सो क्रममा संसदीय मर्यादापालकहरूले उनीहरूलाई रोकेका थिए।
विरोधप्रति ध्यानाकर्षण गराउँदै सभामुख डोलप्रसाद अर्यालले पर्चा देखाएर सदनमा विरोध गर्ने शैली संसदीय अभ्यास र मर्यादाविपरीत भएको बताउनुभएको छ। उहाँले यस्तो प्रकारको प्रदर्शन आगामी दिनमा नगर्न निर्देशन दिनुभएको थियो।
यसअघि सो पार्टीले नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिन प्रधानमन्त्री बालेन्द्र शाह उपस्थित नभएको भन्दै गत वैशाख ३१ गतेको बैठक बहिष्कार गरेको थियो।
आजको बैठकमा कार्यव्यवस्था परामर्श समितिका सदस्यहरूको हेरफेर, प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन पेस तथा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफलका कार्यसूची रहेका छन्।