काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८२÷८३ को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार बैंकले नाफा र आम्दानीमा उल्लेख्य सुधार देखाएको छ, तर वितरणयोग्य मुनाफा र खराब कर्जामा केही दबाब देखिएको छ ।
चालु आवको नौ महिनासम्म बैंकले ९४ करोड २६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको ७२ करोड ४८ लाख रुपैयाँको तुलनामा करिब ३० प्रतिशतले बढी हो । नाफामा भएको यो उल्लेख्य वृद्धि बैंकको सञ्चालन क्षमतामा सुधारको संकेत मानिएको छ ।
समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी चार दशमलव ८७ प्रतिशतले बढेर तीन अर्ब ४४ करोड ५८ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष सोही अवधिमा यस्तो आम्दानी तीन अर्ब २८ करोड ५८ लाख रुपैयाँ रहेको थियो । यस्तै, बैंकको कुल सञ्चालन आम्दानी चार दशमलव ६७ प्रतिशतले बढेर तीन अर्ब ९३ करोड १४ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष तीन अर्ब ७५ करोड ६१ लाख रुपैयाँ थियो । सञ्चालन मुनाफा पनि ३१ प्रतिशतले बढ्दै एक अर्ब ३५ करोड ६५ लाख रुपैयाँ पुगेको छ, जबकि गत वर्ष सोही अवधिमा एक अर्ब ३ करोड ५२ लाख रुपैयाँ थियो । बैंकको निष्क्रिय कर्जा अनुपात भने चार दशमलव ४१ प्रतिशतबाट बढेर चार दशमलव ८८ प्रतिशत पुगेको छ, जसले कर्जा गुणस्तरमा केही दबाब देखिएको संकेत गर्छ । बैंकले चैत मसान्तसम्म एक खर्ब १७ अर्ब ३३ करोड रुपैयाँ निक्षेप संकलन गरी ९७ अर्ब २२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । वितरणयोग्य मुनाफा भने घटेको छ । अघिल्लो वर्ष ६१ करोड ९५ लाख रुपैयाँ रहेको यस्तो मुनाफा चालु आवमा घटेर ४३ करोड ८९ लाख रुपैयाँमा सीमित भएको छ । चुक्ता पुँजी सात अर्ब चार करोड रुपैयाँ रहेको बैंकको जगेडा कोषमा तीन अर्ब ४१ करोड रुपैयाँ सञ्चिति रहेको छ ।