काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य वामदेव गौतम नेकपाकोउपाध्यक्ष बनाउने भएको छ । शुक्रबार बसेको सचिवालय बैठकले गौतमलाई उपाध्यक्ष बनाउने प्रस्तावलाई आगामी स्थायी कमिटी र केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको हो ।
नेकपाको विधानमा उपाध्यक्ष पद रहने व्यवस्था नभए पनि सचिवालयले उपाध्यक्षमा गौतमलाई बनाउने प्रस्ताव गरेको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले लामो विवादपछि स्कुल विभाग प्रमुखको टुंगो लगाएको छ ।
शुक्रबार बसेको सचिवालय बैठकले स्कुल विभाग प्रमुखको जिम्मेवारी ईश्वर पोखरेललाई दिने निर्णय गरेको हो । स्कुल विभाग प्रमुखका लागि पोखरेलसँगै नारायणकाजी श्रेष्ठ, घनश्याम भुसाल, बेदुराम भुसालसहित ८ नेताको दावी थियो ।
खासगरी पूर्वएमालेले पोखरेल र पूर्वमाओवादीले श्रेष्ठको नाममा अडान लिएपछि स्कुल विभाग प्रतिष्ठाको विषय बनेको थियो । स्रोतका अनुसार शुक्रबार बिहान प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलमा स्कुल विभागको प्रमुखको टुंगो लागेको थियो ।