काठमाडौं । हिमाल देलखा हाइड्रोको सेयरमा लगानीकर्ताहरुको रुची नदेखिँदा प्राथमिक शेयरमा कम्पनीका सञ्चालक तथा संस्थापकलाई शेयर भर्ने अवशर दिइए पनि उनीहरुलेसमेत रुची देखाएनन् ।
आइतबारदेखि तीन दिनको म्याद राखेर उनीहरुलाई शेयर भर्ने अवशर दिइएको थियो । तर यस अवधिमा एउटै पनि आवेदन नपरेको बिक्री प्रबन्धक ग्लोबल आएमइ क्यापिटलले जनाएको छ । कम्पनीले अब बाँडफाँडको तयारी सुरु गरेको छ ।
कम्पनीको निष्कासनमा करिब ४० प्रतिशत शेयर बिक्री भएको छ । एक महिनाको अवधिमा ७२ हजार २७ सर्वसाधारणले ३० लाख ६५ हजार १२० कित्ताको लागि आवेदन दिएका छन् ।
सामूहिक लगानी कोष र कर्मचारीलाई छुट्टाएर बाँकी रहेको ७४ लाख ९३ हजार ७६६ कित्ता शेयर सर्वसाधारणलाई खुला गरेको थियो । कम्पनीका अनुसार यसमा स्थानीय प्रभावितले नकिनेको १४ लाख ७२ हजार २१० कित्ता शेयरसमेत समावेश गरिएको थियो । जसमध्ये अझै ६०.७० प्रतिशत शेयर बिक्री हुन बाँकी छ ।