बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

मुद्दा चलाउने आधार नभेटिएपछि रिहा भएँ : अध्यक्ष ओली

बिहिबार, चैत्र २६ २०८२

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले आफूविरुद्ध मुद्दा चलाउने पर्याप्त आधार र प्रमाण नभेटेपछि रिहा भएको बताएका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै ओलीले आफूलाई पूर्वाग्रह र प्रतिशोधपूर्ण रूपमा पक्राउ गरी १३ दिनसम्म गैरकानुनी नियन्त्रणमा राखिएको आरोप लगाएका छन्। “मुद्दा चलाउने आधार नपुगेपछि अन्ततः म रिहा भएको छु,” उनले उल्लेख गरेका छन्।

ओलीले आफ्नो रिहाइका लागि आवाज उठाउने नागरिक, कानुन व्यवसायी, सञ्चारकर्मी तथा विभिन्न राजनीतिक दलका नेताप्रति आभार व्यक्त गर्दै सर्वोच्च अदालत प्रति पनि उच्च सम्मान प्रकट गरेका छन्।

त्यस्तै, प्रहरी नियन्त्रणमा रहँदा आफूलाई मानवीय व्यवहार गर्ने सुरक्षा निकाय तथा स्वास्थ्य उपचारमा संलग्न चिकित्सक र त्रिवि शिक्षण अस्पताल प्रति पनि उनले कृतज्ञता व्यक्त गरेका छन्।

उनले आफ्नो रिहाइको माग गर्दै प्रदर्शनमा उत्रिएका क्रममा घाइते भएका व्यक्तिहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचार खर्च राज्यले व्यहोर्नुपर्ने बताएका छन्। राज्यले बेवास्ता गरेमा आफ्नो पार्टीले खर्च व्यहोर्ने प्रतिबद्धता पनि उनले जनाएका छन्।

स्वास्थ्य अवस्था अझै पूर्ण रूपमा सुधार नभएकाले केही दिन अस्पतालमै बसेर उपचार गर्ने जानकारी दिँदै उनले समर्थक तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गरेका छन्।