काठमाडौँ । प्रतिनिधिसभाको उपसभामुख चयनका लागि आज उमेदवारी दर्ताको समय तोकिएको छ। संसद् सचिवालयले जारी गरेको निर्वाचन कार्यतालिकाअनुसार, उम्मेदवारी दर्ता बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुल्ला रहनेछ।
प्रतिनिधिसभाका सचिव हर्कराज राईले प्रकाशन गरेको सूचनामा बिहीबार दिउँसो २:३० बजे उमेदवारी दर्ता सूची प्रकाशन गरिने उल्लेख गरिएको छ।
उपसभामुखको निर्वाचन भोलि, २७ गते हुने छ। प्रतिनिधिसभाको बैठक अपराह्न ४ बजे बस्नेछ, जहाँ प्रस्तावकले उपसभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन् र त्यसमा छलफलपछि निर्णय गरिनेछ।
सभामुख डोलप्रसाद अर्याल ले बुधबारको बैठकमा उपसभामुख निर्वाचनको मिति तोक्ने र सूचना प्रकाशन गर्न निर्देशन दिनुभएको थियो।
विपक्षी दलहरूले समेत उमेदवारी दिने तयारी गरेका छन्। प्रतिनिधिसभाको दुईतिहाइ बहुमत सत्तारूढ रास्वपा नजिक रहेको हुँदा, उपसभामुखको चयन सत्तारूढको समर्थन पाउने दलबाट हुने सम्भावना छ। हालसम्म रास्वपाले कुनै दललाई समर्थन गरेको छैन।