बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

जनआन्दोलन दिवस आज: प्रजातन्त्र पुनर्बहालीको ऐतिहासिक सम्झना

बिहिबार, चैत्र २६ २०८२

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको ऐतिहासिक दिनको स्मरणमा आज देशभर विभिन्न कार्यक्रम गरी जनआन्दोलन दिवस मनाइँदै छ।

वि.सं. २०४६ चैत २६ गते ३० वर्ष लामो पञ्चायती शासन व्यवस्थाको अन्त्य भई बहुदलीय प्रजातान्त्रिक व्यवस्था पुनःस्थापना भएको थियो। उक्त दिनको सम्झनामा प्रत्येक वर्ष यो दिवस मनाइन्छ।

वि.सं. २०१७ पुस १ गते तत्कालीन राजा महेन्द्र ले सुरु गरेको पञ्चायती व्यवस्थाको अन्त्य २०४६ सालको जनआन्दोलनमार्फत भएको हो। नेपाली कांग्रेस को नेतृत्वमा वाममोर्चासहित भएको संयुक्त आन्दोलनले उक्त व्यवस्था ढाल्दै देशमा बहुदलीय शासन प्रणाली पुनःस्थापित गराएको थियो।

यो जनआन्दोलनको नेतृत्व गणेशमान सिंहले गरेका थिए, जुन करिब ५० दिनसम्म निरन्तर चलेको थियो। वि.सं. २०४६ फागुन ७ गतेबाट सुरु भएको आन्दोलनले व्यापक जनसहभागिता जुटाएको थियो।

आन्दोलनको दबाबपछि तत्कालीन राजा वीरेन्द्रले देशवासीका नाममा सम्बोधन गर्दै २०४६ चैत २६ गते बहुदलीय व्यवस्था पुनःस्थापनाको घोषणा गरेका थिए ।

यस ऐतिहासिक दिनले नेपालमा प्रजातान्त्रिक अभ्यासलाई पुनर्जीवित गर्नुका साथै जनअधिकार र राजनीतिक स्वतन्त्रताको मार्ग प्रशस्त गरेको मानिन्छ।