काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल ले पत्रकार तथा सञ्चारकर्मीहरूको भूमिकाको उच्च प्रशंसा गर्दै निजी क्षेत्र र सञ्चार क्षेत्रबीचको सहकार्यलाई अझ सुदृढ बनाउनुपर्ने बताएका छन्।
पत्रकार तथा सञ्चारकर्मीहरूका लागि आयोजित धन्यवाद ज्ञापन कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले पत्रकारहरूसँगको प्रत्यक्ष संवादले राष्ट्रको आर्थिक विकासबारे साझा दृष्टिकोण निर्माण गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे। उनले यस कार्यक्रमलाई केवल औपचारिकता नभई सहकार्यको महत्वपूर्ण अवसरका रूपमा लिनुपर्ने उल्लेख गरे।
अध्यक्ष ढकालले आफ्नो कार्यकालको सुरुआतमा देशको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको स्मरण गर्दै कोभिड–१९ को प्रभाव, अन्तर्राष्ट्रिय द्वन्द्व, उच्च ब्याजदर, तरलता अभाव र नीतिगत अन्योलले अर्थतन्त्र कमजोर बनेको बताए। यस्तो अवस्थामा निजी क्षेत्रको मनोबल जोगाउने, आर्थिक गतिविधि चलायमान बनाउने र लगानीमैत्री वातावरण निर्माण गर्ने लक्ष्यका साथ काम गरिएको उनको भनाइ थियो।
उनले आफ्नो कार्यकालका पाँच प्राथमिकताअन्तर्गत आर्थिक संकट समाधान, लगानी प्रवर्द्धन, सार्वजनिक–निजी साझेदारी सुदृढीकरण, रोजगारी सिर्जना तथा व्यवसायीको सम्मान र सुरक्षा सुनिश्चित गर्ने क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल भएको दाबी गरे।
महासंघले नीति निर्माण प्रक्रियामै सक्रिय सहभागिता जनाउँदै उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठनमा भूमिका खेलेको, जसबाट ३० भन्दा बढी कानुन सुधारका सिफारिस भएको जानकारी पनि उनले दिए। निजी क्षेत्रलाई शान्ति क्षेत्रका रूपमा घोषणा गरिनु र लगानी संरक्षण तथा प्रवर्द्धन रणनीति स्वीकृत हुनु महत्वपूर्ण उपलब्धि भएको उनले उल्लेख गरे।
त्यसैगरी, द्विपक्षीय लगानी सम्झौता (बीआईए) मस्यौदा तयार गरी विभिन्न देशसँग सम्झौता प्रक्रिया अघि बढाइएको, राज्य–निजी क्षेत्र सम्बन्धलाई टकरावबाट सहकार्यमा रूपान्तरण गरिएको र लगानीमैत्री वातावरण जोगाउन महत्वपूर्ण पहल गरिएको उनको भनाइ थियो।
अध्यक्ष ढकालले आन्तरिक तथा बाह्य लगानी प्रवर्द्धनका लागि ‘नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड’ स्थापना गरी पूर्वाधार तथा उत्पादनमूलक क्षेत्रमा लगानीको नयाँ ढाँचा अघि सारिएको बताए। साथै भारत, चीन, यूएई, कतार, बेलायतलगायत मुलुकहरूसँग लगानी सम्मेलन र संवादमार्फत नेपाललाई लगानी गन्तव्यका रूपमा स्थापित गर्ने प्रयास गरिएको जानकारी दिए।
संस्थागत सुधारतर्फ महासंघको विधान संशोधन गरी नेतृत्व चयन प्रक्रिया थप पारदर्शी र समावेशी बनाइएको तथा निजी क्षेत्रलाई राष्ट्रको विकास साझेदारका रूपमा स्थापित गरिएको उनले उल्लेख गरे। निजी क्षेत्रको योगदानसम्बन्धी अध्ययन प्रतिवेदन प्रकाशनले नीतिगत बहसलाई थप मजबुत बनाएको पनि उनले बताए।
कार्यक्रममा अध्यक्ष ढकालले पत्रकारहरूको भूमिकालाई “समाजको ऐना र नीति निर्माणको मार्गदर्शक शक्ति” का रूपमा वर्णन गर्दै तथ्यमा आधारित विश्लेषण, रचनात्मक आलोचना र सुझावले निजी क्षेत्रलाई थप जिम्मेवार बन्न प्रेरित गरेको बताए।
अन्त्यमा उनले आफ्नो तीनवर्षे कार्यकाल सफल बनाउन पत्रकार क्षेत्रबाट प्राप्त सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा पनि महासंघ सञ्चार क्षेत्रसँग सहकार्य गर्न प्रतिबद्ध रहने बताए।