काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायुको प्रभावका कारण अहिले देशभर मौसम बदली भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान, कोशी प्रदेशका पहाडी भूभाग तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो कोशी प्रदेशसहित देशका अधिकांश पहाडी र हिमाली क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने अन्य भूभागमा आंशिक बदली रहने अनुमान गरिएको छ। कोशी प्रदेशका साथै पहाडी र हिमाली क्षेत्रका केही स्थान तथा मधेश प्रदेशका केही भागमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राति पनि कोशी प्रदेशलगायत हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने अन्य पहाडी क्षेत्रमा आंशिक बदली र तराई क्षेत्रमा प्रायः मौसम सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भागका केही स्थानमा तथा अन्य हिमाली क्षेत्रमा एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना कायमै रहनेछ।
महाशाखाले वर्षा तथा हिमपातको सम्भावना भएका क्षेत्रका सर्वसाधारण, विशेषगरी यात्रु र यातायात सेवा सञ्चालनकर्तालाई सतर्कता अपनाउन आग्रह गरेको छ।