बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

ओली र लेखकलाई थप पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति

सोमबार, चैत्र २३ २०८२

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

न्यायाधीश जगतबहादुर पौडेलको इजलासले अनुसन्धानका थप कार्य बाँकी रहेको र प्रमाण सङ्कलन आवश्यक देखिएको भन्दै हिरासतमा राख्न मनासिव ठहर गर्दै म्याद थपको आदेश दिएको हो।

अदालतको आदेशमा थप अनुसन्धान, प्रमाण संकलन तथा सम्बन्धित प्रक्रिया पूरा गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै चैत २१ गतेदेखि लागू हुने गरी पाँच दिनको म्याद थप गरिएको जनाइएको छ।

अदालतका श्रेस्तेदार तीर्थराज भट्टराईका अनुसार यसअघि प्रारम्भिक रूपमा पाँच दिन र त्यसपछि दुई दिन म्याद थप भइसकेको थियो।

सरकारी वकिलले भने दुवै नेतालाई १० दिनसम्म हिरासतमा राख्न अनुमति माग गरेका थिए। जेनजी आन्दोलनको समयमा ओली प्रधानमन्त्री र लेखक गृहमन्त्री रहेका थिए। उक्त आन्दोलनका क्रममा भएको दमनबारे छानबिन गर्न गठित आयोगले दुवैविरुद्ध फौजदारी कारबाही अघि बढाउन सिफारिस गरेपछि सोही आधारमा चैत १४ गते पक्राउ गरिएको थियो।