बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

माथिल्लो मुस्ताङ र मुक्तिनाथ क्षेत्रमा भारी हिमपात, जनजीवन प्रभावित

आइतबार, चैत्र २२ २०८२

मुस्ताङ । माथिल्लो मुस्ताङ र मुक्तिनाथ क्षेत्र मा शनिबार रातिदेखि भारी हिमपात भएको छ। यससँगै चालु हिउँदयाममा यहाँ छैटौँपटक हिमपात भएको जनाइएको छ।

एक्याप लोमान्थाङका कार्यालय प्रमुख उमेश पौडेलका अनुसार माथिल्लो मुस्ताङका बस्ती र उच्च लेक क्षेत्रमा एक फिटसम्म हिउँ जमेको छ। वारागुङ मुक्तिक्षेत्र–३ स्याङवचेदेखि कोरलानाकासम्मका डाँडाकाँडा पूर्ण रूपमा सेताम्मे भएका छन्।

घिलिङ, घमी, चराङ, लोमान्थाङ, ठिङ्गर, छोसेर, सम्जुङ, यारा, ढी लगायतका स्थानमा भारी हिमपात भएको छ। लोमान्थाङ गाउँपालिकाका कर्मचारी उदय तिमिल्सिनाका अनुसार हिमपात अझै जारी रहेमा दुई फिटभन्दा बढी हिउँ जम्ने सम्भावना रहेको छ।

हिमपातका कारण स्थानीय जनजीवन प्रभावित भएको छ भने तापक्रम पनि उल्लेखनीय रूपमा घटेको छ। पशुपालन गर्ने किसान तथा स्थानीयवासीलाई विशेष सास्ती परेको जनाइएको छ।

यद्यपि, बर्खेबाली सुरु हुने समयमा भएको हिमपातले खेतीका लागि केही सकारात्मक प्रभाव पनि पार्ने विश्वास गरिएको छ। माथिल्लो मुस्ताङमा वर्षमा एकपटक मात्र बाली लगाउने प्रचलन रहेको छ।

यसैबीच मुक्तिनाथ आसपासका खिङ्गा, झारकोट, पुडाक र छेङ्गुर क्षेत्रमा पनि हिमपात भएको छ। हिमपातका कारण दर्शनार्थीलाई केही असहजता भए पनि हिउँले ढाकिएको प्राकृतिक दृश्यले पर्यटकमा आकर्षण बढाएको स्थानीयले बताएका छन्।

उता जोमसोमदेखि तल्लो क्षेत्रमा भने भारी वर्षा भएको छ। स्याउका बोटमा फूल फुल्ने समयमा परेको वर्षा र हिमपातले स्याउ खेतीमा नकारात्मक असर पार्ने कृषि प्राविधिकहरूले बताएका छन्।

विशेषज्ञहरूका अनुसार पछिल्ला वर्षहरूमा देखिएको यस्तो असमान हिमपात जलवायु परिवर्तन को प्रभाव हुन सक्ने विश्लेषण गरिएको छ।