काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्थगित गरिएको मतदाता नामावली सङ्कलन कार्य आजदेखि पुनः सुरु भएको छ।
निर्वाचन आयोगले गत मङ्सिर ६ गतेदेखि नामावली सङ्कलन स्थगित गरेको थियो। आयोगको चैत १८ गते बसेको बैठकले उक्त कार्य पुनः सञ्चालन गर्ने निर्णय गरेको हो।
आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार अब राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त नागरिकले सोही विवरण प्रयोग गरी अनलाइन प्रणालीमार्फत मतदाता नामावलीमा नाम दर्ता गर्न सक्नेछन्।
राष्ट्रिय परिचयपत्र प्रणालीमा आबद्ध नभएका नागरिकले भने ‘प्रि–इनरोलमेन्ट’ प्रणालीमार्फत अनलाइन फारम भर्नुपर्नेछ। त्यसपछि फोटो, औँठाछापसहितको जैविक विवरण दर्ताका लागि सम्बन्धित प्रदेश वा जिल्ला निर्वाचन कार्यालयमा स्वयं उपस्थित हुनुपर्ने व्यवस्था गरिएको छ।
यसका साथै, मतदाता नामावलीमा रहेका त्रुटि सच्याउने, दोहोरो नाम हटाउने, मृत्यु वा बसाइँसराइका विवरण अद्यावधिक गर्ने कार्य पनि अनलाइनबाटै गर्न सकिनेछ। नाम, थर, ठेगाना संशोधन गर्न तथा पायक पर्ने मतदानस्थलमा नाम सार्ने सुविधा पनि उपलब्ध गराइएको आयोगले जनाएको छ।
निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन प्रक्रियामा सक्रिय सहभागिता जनाउन सबै नागरिकसँग आग्रह गरेको छ।