बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

संघीय संसद्का दुवै सदनको बैठक आज, सभामुख चयन प्रस्ताव निर्णयार्थ प्रस्तुत हुने

आइतबार, चैत्र २२ २०८२

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक बिहान ११ः०० बजे सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनको बहुउद्देश्यीय हलमा सुरु हुने तय गरिएको छ।

आजको बैठकमा सभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्याललाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत भई निर्णयार्थ लैजाने कार्यसूची रहेको छ। अर्याल यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन्। उनको प्रस्तावकमा रास्वपा सभापति रवि लामिछाने रहेका छन् भने समर्थकमा स्वर्णिम वाग्ले, सोविता गौतम र सुनिल लम्साल रहेका छन्।

यस्तै, राष्ट्रियसभाको बैठक अपराह्न १२ः१५ बजे बस्नेछ। बैठकमा सभाध्यक्षले विषयगत समितिका सदस्यहरूको मनोनयन तथा हेरफेर गर्ने कार्यक्रम रहेको छ। साथै, अध्यक्ष र उपाध्यक्ष अनुपस्थित हुँदा बैठक सञ्चालन गर्ने सदस्यहरूको नाम पनि तोकिनेछ।

यसैबीच, प्रधानमन्त्री वालेन्द्र शाहले महिला आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ।