इन्डोनेसिया । इन्डोनेसिया मा शक्तिशाली भूकम्प गएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार सुलावेसी टापुको उत्तरपूर्वी तटीय क्षेत्रमा केन्द्रबिन्दु भएर ७.४ म्याग्निच्युडको भूकम्प गएको हो।
भूकम्पपछि केही समयका लागि सुनामीको सानो लहर देखिएको भए पनि पछि चेतावनी हटाइएको जनाइएको छ। हालसम्म भूकम्पबाट भएको पूर्ण क्षतिको विवरण भने सार्वजनिक भइसकेको छैन।
टर्नेट र टिडोरे सहरका स्थानीय अधिकारीहरूले नागरिकलाई सुरक्षित स्थानतर्फ सार्न तयारी गर्न आग्रह गरेका थिए। यसबीच मेट्रो टिभी ले भूकम्पका कारण क्षतिग्रस्त भवनहरूको दृश्य प्रसारण गरेको छ।
मानाडो सहरमा एक भवन भत्किँदा एक जनाको मृत्यु भएको पुष्टि भएको छ। स्थानीय खोज तथा उद्धार अधिकारी जोर्ज लियो मर्सी रान्डाङ का अनुसार मानाडो आसपास क्षेत्रमा भूकम्पको कडा धक्का महसुस गरिएको थियो।
इन्डोनेसियाको भूगर्भ निकायका अनुसार भूकम्प गएको करिब आधा घण्टाभित्रै उत्तर सुलावेसीको उत्तर मिनाहासा क्षेत्रमा ७५ सेन्टिमिटर र बिटुङ मा २० सेन्टिमिटरसम्मका समुद्री लहर रेकर्ड गरिएको छ।