बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

बालाजु बाइसधारा मेला सुरु, भक्तजनको भीड

बिहिबार, चैत्र १९ २०८२

काठमाडौँ । चैत शुक्ल पूर्णिमाका अवसरमा प्रत्येक वर्ष लाग्ने बालाजु बाइसधारा (ल्हुति पुन्हि) मेला आजदेखि सुरु भएको छ।

बालाजु बाइसधारामा लाग्ने यस मेलामा स्नान गरे मुक्तिनाथ र गोसाइँकुण्ड मा स्नान गरेसरह पुण्य प्राप्त हुने जनविश्वास रहेको छ। भक्तजनलाई सहज रूपमा स्नान गर्न मिलोस् भन्ने उद्देश्यले २२ वटै धाराबाट पानी प्रवाहको व्यवस्था मिलाइएको उद्यानका प्रमुख रवीन मानन्धरले जानकारी दिए ।

मेलामा बौद्ध तथा हिन्दू धर्मावलम्बीहरूको उल्लेख्य सहभागिता रहेको छ। विशेषगरी नेवार समुदायमा आज ‘मन्नादी’ देवीको जन्मोत्सव मनाउने परम्परा रहेको छ। महिलाहरूले बाइसधारामा स्नान गरी मन्नादी देवीको पूजा गरेमा मनोकामना पूरा हुने विश्वास गरिन्छ।

स्थानीय बुढापाकाका अनुसार यहाँ स्नान गर्दा छालासम्बन्धी रोग नलाग्ने जनविश्वास पनि रहँदै आएको छ।

इतिहासअनुसार नेपाल संवत् ८७५ मा कान्तिपुरका राजा जयप्रकाश मल्लले २१ वटा ढुङ्गेधारा स्थापना गर्नुभएको थियो भने वि.सं. १८५५ मा राजा रणबहादुर शाहले थप एक धारा निर्माण गराउनुभएको थियो। त्यसैपछि यस स्थानलाई ‘बाइसधारा’ भनेर चिनिन थालिएको हो।