बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

आजदेखि संघीय संसद् अधिवेशन

बिहिबार, चैत्र १९ २०८२

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएपछि संघीय संसद्को पहिलो अधिवेशन आजदेखि सुरु हुँदैछ। सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुद्देश्यीय कक्षमा दिउँसो २ बजे प्रतिनिधिसभा बैठक बस्ने तय गरिएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानबमोजिम मन्त्रिपरिषद्को सिफारिसमा चैत १६ गते दुवै सदनको अधिवेशन आह्वान गरेका थिए । संसद् सचिवालयका अनुसार बैठक सञ्चालनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको छ। राष्ट्रियसभा बैठक भने संघीय संसद् सचिवालयस्थित आफ्नै कक्षमा बस्नेछ।

संवैधानिक व्यवस्थाअनुसार प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम घोषणा भएको ३० दिनभित्र अधिवेशन आह्वान गर्नुपर्ने हुन्छ। निर्वाचन आयोगले चैत ५ गते निर्वाचनको अन्तिम प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाएको थियो।

आजको प्रतिनिधिसभा बैठकमा तीन महत्त्वपूर्ण अध्यादेश पेस हुने कार्यसूची रहेको छ। गृहमन्त्री सुधन गुरुङले ‘मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश, २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’ र ‘नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश, २०८२’ प्रस्तुत गर्ने सम्भावना छ।

बैठकको सुरुआतमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र तथा प्रधानमन्त्री नियुक्ति र मन्त्रिपरिषद् गठनसम्बन्धी विवरण पढेर सुनाउने छन् ।

त्यसैगरी, प्रतिनिधिसभाले आफ्नै नियमावली नबनाएसम्मका लागि विद्यमान नियमावली, २०७९ अनुसार कामकारबाही अघि बढाउने प्रस्ताव प्रस्तुत गरिनेछ। सभामुखको अनुपस्थितिमा बैठक सञ्चालन गर्न सदस्यहरूको मनोनयनसमेत गरिने कार्यसूचीमा समावेश छ।

अधिवेशनको पहिलो दिन दलीय आधारमा सांसदहरूले मन्तव्य राख्नेछन् भने सभामुखको निर्वाचनका लागि मिति तोक्ने कार्यक्रम पनि रहेको छ।

बैठकको अन्त्यमा संविधानसभा तथा संसद्का पूर्वसदस्यहरूको निधनप्रति शोक प्रस्ताव प्रस्तुत गरिनेछ।