काठमाडौँ । वालेन्द्र शाह नेपालको प्रधानमन्त्री नियुक्त भएको अवसरमा मिखाइल मिशुस्टिनले बधाई व्यक्त गरेका छन् ।
बुधबार पठाइएको बधाई सन्देशमार्फत रूसी प्रधानमन्त्रीले रूसको सङ्घीय सरकार तथा व्यक्तिगत रूपमा प्रधानमन्त्री शाहलाई शुभकामना दिएका हुन् ।
सन्देशमा उनले प्रधानमन्त्री शाहको नेतृत्वमा रूस–नेपाल सम्बन्ध मित्रता, आपसी सम्मान र पारस्परिक हितको आधारमा अझ सुदृढ हुने विश्वास व्यक्त गरेका छन् ।
त्यस्तै, सरकारी तहमा हुने सहकार्यले व्यापार, आर्थिक, लगानी, सांस्कृतिक तथा मानवीय क्षेत्रमा सहयोग विस्तारमा सकारात्मक योगदान पुग्ने उल्लेख गरिएको रूसी राजदूतावासले जनाएको छ।
रूसी प्रधानमन्त्री मिशुस्टिनले द्विपक्षीय सहकार्य दुवै देशका दीर्घकालीन हितमा रहने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री शाहको सुस्वास्थ्य, समृद्धि र सफल कार्यकालको कामना गरेका छन् ।