काठमाडौँ . प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने रामभक्त हनुमानको जन्मजयन्ती आज देशभर विभिन्न धार्मिक कार्यक्रमका साथ श्रद्धापूर्वक मनाइँदै छ।
यस दिन हनुमानको पूजाआराधना गरे बल, बुद्धि र विद्या प्राप्त हुने तथा दुःख–सङ्कटबाट मुक्ति पाइने धार्मिक विश्वास छ। यस अवसरमा हनुमानढोका, पशुपतिनाथ क्षेत्र, गोकर्णेश्वरस्थित पञ्चमुखी हनुमान मन्दिरलगायत देशभरका हनुमान मन्दिरमा विशेष पूजा गरिन्छ। हनुमानढोका दरबार परिसरको नासलचोक नजिक रहेको पञ्चमुखी हनुमान मन्दिरमा भने पुजारीले मात्र पूजाआराधना गर्ने परम्परा छ।
संस्कृत व्याकरणअनुसार ‘हनु’ धातुमा ‘मतुप’ प्रत्यय जोडिँदा ‘हनुमान’ शब्द बनेको मानिन्छ, जसको अर्थ वेगवान् शक्ति र आज्ञापालक व्यक्तित्वसँग सम्बन्धित छ। धार्मिक ग्रन्थहरूमा हनुमानलाई भगवान् रामका परम भक्तका रूपमा वर्णन गरिएको छ, जसले आफ्नो अद्वितीय शक्ति, साहस र समर्पणले विशिष्ट स्थान प्राप्त गरेका छन्।
शास्त्रीय मान्यताअनुसार हनुमान वायुपुत्र हुन् र उनी जुनसुकै रूप धारण गर्न सक्ने शक्तियुक्त मानिन्छन्। रामायणलाई हनुमानका जीवन र योगदानको प्रमुख स्रोत मानिन्छ भने विभिन्न पुराणहरूमा पनि उनलाई शिवको अंश अवतारका रूपमा उल्लेख गरिएको छ।
धार्मिक विश्वासअनुसार हनुमानको आराधनाले रोगव्याधि, भय, नकारात्मक शक्ति तथा प्राकृतिक विपत्तिबाट रक्षा हुने मानिन्छ। यसैले बालबालिकादेखि वृद्धसम्म ‘हनुमान चालिसा’ पाठ गर्ने परम्परा पनि व्यापक छ।
आजको दिन भक्तजनहरूले पवित्र नदीमा स्नान गरी व्रत बस्ने, पूजा गर्ने र हनुमान मन्दिरमा दर्शन गर्ने गर्दछन्। साथै विभिन्न स्थानमा शोभायात्रा निकाल्ने परम्परा पनि छ।
हनुमानलाई ‘बजरङ्गबली’ तथा ‘संकटमोचक’का रूपमा समेत पुजिन्छ। धार्मिक विश्वासअनुसार भक्तियोग र कर्मयोगमार्फत भगवान् रामप्रति समर्पित हनुमानले अणिमा, महिमा, गरिमा, लघिमा, प्राप्ति, प्रकाम्य, इशित्व र वशित्वजस्ता आठ यौगिक शक्ति प्राप्त गरेका थिए।
यसरी श्रद्धा, भक्ति र आस्थाका साथ मनाइने हनुमान जन्मजयन्तीले धार्मिक तथा सांस्कृतिक महत्वलाई झल्काउने गर्दछ।