बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

पहाडी र हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

बिहिबार, चैत्र १९ २०८२

काठमाडौँ । देशमा हाल पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभावका कारण विभिन्न स्थानमा बदली देखिएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र सुदूरपश्चिमसहित अधिकांश प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहेको छ भने अन्य क्षेत्रमा आंशिक बदली कायम छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही पहाडी क्षेत्रमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा भइरहेको छ।

आज दिउँसो हिमाली तथा पहाडी भेगमा आंशिक बदली रहनेछ भने तराई क्षेत्रमा मौसम प्रायः सफा रहने अनुमान गरिएको छ। साथै कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको छ।

त्यस्तै, आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने अन्य हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ। बाँकी पहाडी तथा तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने जनाइएको छ। गण्डकी प्रदेशका हिमाली भेगका एक–दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षा वा हिमपातको सम्भावना कायमै रहेको छ।

महाशाखाले हिमाली क्षेत्रमा मेघगर्जन, चट्याङ, वर्षा तथा हिमपातको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन तथा मौसमसम्बन्धी पछिल्लो जानकारी नियमित रूपमा लिन सर्वसाधारण र सम्बन्धित निकायलाई आग्रह गरेको छ।