कञ्चनपुर । यातायात व्यवस्था कार्यालय महेन्द्रनगरले कार्यालय परिसरभित्र बिचौलियाको प्रवेश पूर्ण रूपमा निषेध गरेको छ । सेवाग्राहीलाई अनावश्यक दुःख, हैरानी र आर्थिक ठगी भइरहेको गुनासो बढेपछि कार्यालयले औपचारिक सूचना जारी गर्दै यस्तो निर्णय गरेको हो ।
कार्यालयका निमित्त प्रमुख रवीन्द्र चौधरीका अनुसार केही व्यक्तिहरूले सवारीसाधनको बीमा बनाइदिने, नवीकरण गरिदिने, निरोगिता प्रमाणपत्र बनाइदिने लगायतको प्रलोभन देखाएर सेवाग्राहीसँग अतिरिक्त रकम लिने र हैरानी दिने क्रम बढेको थियो । यसकारण बिचौलियालाई कार्यालय परिसरमा प्रवेशमा रोक लगाइएको हो ।
उनले भने, “यदि कसैले निषेध गरिएको क्षेत्रमा प्रवेश गरी सेवाग्राहीलाई समस्या पुर्याएमा कानुन बमोजिम कारबाहीका लागि सम्बन्धित निकायमा जानकारी गराइनेछ ।”
कार्यालयले सेवाग्राहीलाई आफ्नो कामका लागि सिधै सम्बन्धित शाखा वा कर्मचारीसँग सम्पर्क गर्न अनुरोध गरेको छ र कुनै पनि सेवा लिन बिचौलियाको आवश्यकता नभएको तथा तोकिएको शुल्कबाहेक अतिरिक्त रकम नतिर्न पनि सचेत गराएको छ ।
निमित्त कार्यालय प्रमुख चौधरीका अनुसार बिचौलिया नियन्त्रण भएपछि सेवाग्राहीले अनावश्यक झन्झट र अतिरिक्त खर्चबाट मुक्त हुनेछन् र सेवा प्रवाह थप व्यवस्थित हुने अपेक्षा गरिएको छ ।