काठमाडौँ । राप्रपा का नेता कमल थापाले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई सरकारले पक्राउ गरेको घटनाप्रति आपत्ति जनाएका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै थापाले वालेन्द्र शाह नेतृत्वको सरकार निषेध, प्रतिशोध र पूर्वाग्रहको बाटोमा लागेको टिप्पणी गरेका छन्।
उनले वर्तमान परिस्थितिमा द्वन्द्व र मुठभेड कसैको प्राथमिकतामा हुन नहुने उल्लेख गर्दै सुशासन र आर्थिक समृद्धिका लागि कानुनी राज्यको पालना, आपसी मेलमिलाप र राष्ट्रिय एकता अपरिहार्य रहेको बताएका छन्।
थापाले लेखेका छन्, “सुशासन र आर्थिक समृद्धिको लक्ष्यसहित गठन भएको सरकार निषेध, प्रतिशोध र पूर्वाग्रहको बाटोमा लागेको देखिन्छ। वर्तमान समयमा द्वन्द्व र मुठभेड कसैको प्राथमिकता हुनु हुँदैन। वास्तवमा, सुशासन र समृद्धिका लागि कानुनी राज्यको पालना, आपसी मेलमिलाप र एकता नै पहिलो सर्त हुन्।”