काठमाडौँ । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेलगत्तै आपतकालीन सचिवालय बैठक बोलाएको छ।
पार्टीका सचिव महेश बस्नेतका अनुसार आज बिहान साढे ८ बजे बैठक बस्नेछ। बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, विशेषगरी ओलीको पक्राउपछि उत्पन्न परिस्थितिबारे छलफल गरिने जनाइएको छ।
बस्नेतले वालेन्द्र शाह नेतृत्वको सरकार राजनीतिक प्रतिशोध र पूर्वाग्रहको बाटोमा उत्रिएको आरोप लगाउँदै एमालेले अब संघर्षका कार्यक्रम अघि बढाउने संकेत दिएका छन्। साथै, आगामी रणनीति र आन्दोलनका कार्यक्रमबारे ठोस निर्णय लिन बैठक आह्वान गरिएको उनले बताए।
प्रहरीले ज्यानसम्बन्धी कसुरको अनुसन्धानका लागि आज बिहानै भक्तपुरको गुण्डुबाट ओलीलाई पक्राउ गरेको हो। एमालेले यस घटनालाई गम्भीर रूपमा लिँदै राजनीतिक रूपमा सशक्त प्रतिक्रिया दिने तयारी गरेको जनाएको छ।