बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

राष्ट्रपतिद्वारा रामनवमी पर्वको शुभकामना

शुक्रबार, चैत्र १३ २०८२

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले रामनवमी पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।

शुभकामना सन्देशमा उनले सांस्कृतिक तथा ऐतिहासिक पर्वहरूले विभिन्न जातजाति, भाषाभाषी, संस्कृति र भौगोलिक क्षेत्रका नेपालीबीच परस्पर विश्वास, सद्भाव, सहिष्णुता र सहयोगको भावना मजबुत बनाउँदै राष्ट्रिय एकता सुदृढ बनाउन योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्। साथै, यस पर्वले आपसी समझदारी, दिगो शान्ति र भाइचाराको भावना अभिवृद्धि गर्न प्रेरणा दिन सकोस् भन्ने कामना पनि गरेका छन्।

हरेक वर्ष चैत महिनाको शुक्ल पक्षको नवमी तिथिमा भगवान् श्रीरामको जन्मोत्सवका रूपमा रामनवमी मनाउने परम्परा रहिआएको छ। यस अवसरमा भक्तजनहरूले विशेष पूजा, व्रत, अनुष्ठान र जप गर्ने विश्वास छ, जसबाट भगवत् कृपा प्राप्त भई मनोकामना पूरा हुने जनविश्वास रहेको छ।

राष्ट्रपतिले यस्ता मौलिक पर्वहरूले प्राचीन सभ्यता, धर्म र संस्कृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरेका छन्। रामनवमीलाई अधर्ममाथि धर्मको विजयको प्रतीकका रूपमा पनि लिइन्छ।

यस दिन देशका विभिन्न स्थानमा विशेष उत्सव मनाइन्छ भने रामजानकी मन्दिरमा भव्य मेला लाग्ने परम्परा रहेको छ।