बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

आजदेखि मौसम बदली: देशका धेरै स्थानमा वर्षा, हुरी र असिनाको सम्भावना

शुक्रबार, चैत्र १३ २०८२

काठमाडौँ । नेपालमा पुनः मौसम बदली भई आज (शुक्रबार)देखि देशका विभिन्न भागमा वर्षा, हुरीबतास, चट्याङ तथा असिना पर्ने सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागले शुक्रबार र शनिबार मौसम अझ सक्रिय भई वर्षा गराउने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार बिहीबार साँझदेखि नै बदली बढ्न थालेको छ र शुक्रबारदेखि देशका विभिन्न स्थानमा वर्षा हुने क्रम फैलिनेछ। बिहीबार साँझ गोरखा, सिन्धुपाल्चोक, कास्की, लमजुङ, सङ्खुवासभा, खोटाङ र नुवाकोटलगायत क्षेत्रमा वर्षा भइसकेको र आज रातिदेखि यसको प्रभाव अझ बढ्ने बताइएको छ।

मौसम बुलेटिनअनुसार शुक्रबार हिमाली क्षेत्रमा आंशिक बदली, पहाडी क्षेत्रमा सामान्य बदली रहनेछ। साथै, सबै प्रदेशका पहाडी तथा हिमाली भू–भागका केही स्थान र तराईका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ, हुरी तथा असिनासहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।

शनिबार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य बदली रहनेछ भने अन्य क्षेत्रमा आंशिक बदली रहनेछ। यी प्रदेशका केही स्थान र अन्य पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

विभागले यस अवधिमा विशेषगरी हुरीबतास, चट्याङ र असिनाबाट हुन सक्ने क्षतिबाट जोगिन सर्वसाधारणलाई सावधानी अपनाउन अनुरोध गरेको छ। साथै, अद्यावधिक मौसम जानकारी नियमित रूपमा लिन पनि सुझाव दिइएको छ।