बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

पश्चिमी न्यून चापीय प्रणाली सक्रिय: देशभर वर्षा र हिमपातको सम्भावना

शुक्रबार, चैत्र १३ २०८२

काठमाडौं देशमा अहिले पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको असरले देशका विभिन्न भागमा बदली, वर्षा तथा हिमपातको अवस्था बनेको छ।

हाल सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी र हिमाली क्षेत्रहरूमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने तराईका अधिकांश भू–भागमा मौसम मुख्यतया सफा देखिएको छ। बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थान र कोशी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा हिमपात भइरहेको महाशाखाले जनाएको छ।

आज दिउँसो हिमाली क्षेत्रमा व्यापक बदली रहनेछ भने पहाडी भू–भागमा सामान्य बदली र तराईमा आंशिक बदली रहने अनुमान छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका धेरै स्थानमा तथा अन्य प्रदेशका यस्ता क्षेत्रमा केही स्थानमा मेघगर्जन, चट्याङ, हुरी र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। साथै, तराईका केही स्थानमा पनि मध्यम वर्षा हुन सक्ने बताइएको छ।

रातिको समयमा हिमाली क्षेत्रमा अधिकांश बदली रहनेछ भने कोशी र मधेश प्रदेशका पहाडी भागमा सामान्य बदली तथा तराई क्षेत्रमा आंशिक बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कर्णाली र सुदूरपश्चिमका पहाडी र हिमाली क्षेत्रमा मेघगर्जन, चट्याङ, हुरी र असिनासहित वर्षा तथा हिमपातको सम्भावना कायमै रहनेछ।

महाशाखाले विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बढी प्रभाव पर्ने देखिएकाले सम्भावित वर्षा, हिमपात र हुरीबाट सतर्क रहन सर्वसाधारण र सम्बन्धित निकायलाई आग्रह गरेको छ। साथै, नियमित रूपमा मौसमसम्बन्धी अद्यावधिक जानकारी लिन पनि सुझाव दिइएको छ।