बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

सरकारी नियुक्ति लिएकाहरूलाई पद छाड्न चन्द्र भण्डारीको सुझाव

मंगलबार, चैत्र १० २०८२

काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले नयाँ सरकार गठनको तयारीसँगै विगतमा सरकारी नियुक्ति पाएका व्यक्तिहरूलाई स्वेच्छिक रूपमा पद त्याग्न आग्रह गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत् यस्तो सन्देश दिँदै स्वाभिमान देखाउन सम्बन्धित पक्षलाई अनुरोध गरेका हुन्।

 भण्डारीले बहुमतको सरकार बन्ने प्रक्रिया अघि बढिरहेको र जनतामा नयाँ ऊर्जा तथा आशा देखिएको उल्लेख गर्दै विगतका नियुक्तिहरूले पदमा टिकिरहनु उपयुक्त नहुने धारणा व्यक्त गरेका छन्।

उनले लेखेका छन्, “बहुमतको सरकार बनिरहेको छ, जोस र जागर छ—जनताले पत्याइसकेका छन्। विगतमा सरकारी नियुक्ति पाएकाहरूले पद छोडे भइहाल्यो नि।”

उनले पदबाट हटाइएपछि आलोचना हुने अवस्था आउनु भन्दा पहिले नै स्वेच्छिक रूपमा पद त्याग गर्नु उचित हुने बताए। “अब लामो सास नफेर। सल्लाह पनि नखोज। ‘हटायो’ भन्ने शब्द आउन किन दिने ? नयाँ नजिर बन्न सक्दछ,” उनले उल्लेख गरेका छन्।

भण्डारीले स्वाभिमानलाई पद, सुविधा वा आर्थिक लाभसँग जोडेर हेर्न नहुने स्पष्ट पार्दै नैतिकता र जिम्मेवारीलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्। “स्वाभिमान दौरा–सुरुवाल, कोट, पद, पैसा, निवास, गाडीले सुरक्षा दिएको लोभले बढाएको ‘कर्तुत’ होइन,” उनले लेखेका छन्।