बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

रवि लामिछानेविरुद्धको मुद्दामा आज पनि सुनुवाइ

मंगलबार, चैत्र १० २०८२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्धको सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरण कसुरसम्बन्धी मुद्दा संशोधन गरी फिर्ता लिने निर्णयविरुद्ध दायर रिट निवेदनमा सर्वोच्च अदालतले सुनुवाइ आज पनि हुने भएकाे छ ।

सर्वोच्च अदालतमा सोमबार सुरु भएको सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’मा राख्दै मङ्गलबारका लागि निरन्तरता दिइएको अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिएका छन् । उक्त रिटमा न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमान को संयुक्त इजलासमा सुनुवाइ भइरहेको छ ।

यसअघि न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेल को इजलासले यही चैत ५ गते महान्यायाधिवक्ताको कार्यालयलाई लामिछानेविरुद्धका मुद्दा फिर्ता लिने संशोधित निर्णय पेस गर्न आदेश दिएको थियो ।

त्यस्तै, प्रारम्भिक चरणमा न्यायाधीशद्वय सपना प्रधान मल्ल र श्रीकान्त पौडेल को संयुक्त इजलासले उक्त रिटलाई नियमित सुनुवाइका लागि अघि बढाउने आदेश दिएको थियो ।

महान्यायाधिवक्ता सविता भण्डारी बराल ले लामिछानेविरुद्ध अघिल्लो सरकारको पालामा दायर गरिएका सम्पत्ति शुद्धीकरण तथा सङ्गठित अपराधसम्बन्धी मुद्दा फिर्ता लिने निर्णय गरेकी थिइन् । सो निर्णयविरुद्ध युवराज पौडेल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता आभास रेग्मी ले सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट निवेदन दायर गरेका थिए ।