काठमाडौं । नेपाली कांग्रेस भित्र बढ्दो आन्तरिक विवादका बीच केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ । निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले समानान्तर गतिविधि अघि बढाएपछि पार्टी नेतृत्व दबाबमा परेको बताइएको छ ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा अपेक्षित नतिजा हासिल गर्न नसकेपछि पार्टीभित्र असन्तुष्टि बढ्दै गएको बताइन्छ । यही सन्दर्भमा देउवा पक्षले वर्तमान सभापति गगनकुमार थापा नेतृत्वको कार्यसमितिलाई अस्वीकार गर्दै छुट्टै गतिविधि अघि बढाएको बताइएको छ । देउवा समूहले बेग्लै बैठकको तयारी गरेसँगै संस्थापन पक्ष पनि सक्रिय बनेको जनाइएको छ ।
सभापति थापाको अध्यक्षतामा आज दिउँसो १ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा बस्ने बैठकमा पछिल्लो राजनीतिक अवस्था, निर्वाचन समीक्षा तथा आगामी रणनीतिबारे छलफल हुने बताइएको छ । यसअघि उपसभापति विश्वप्रकाश शर्मा नेतृत्वमा बसेका बैठकहरूले सभापति थापाले पेस गरेको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको र निर्वाचन परिणामबारे प्रारम्भिक समीक्षा गरिएको जानकारी दिइएको छ ।
कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले आजको बैठकमा निर्वाचनको विस्तृत समीक्षा गरिने र सभापति थापा स्वयं सहभागी हुने जानकारी दिनुभएको छ । पार्टीभित्र देखिएको मतभेद समाधानका लागि बैठक महत्वपूर्ण हुने अपेक्षा गरिएको छ ।
त्यसैगरी, बैठकले कांग्रेसको १५औँ महाधिवेशनको कार्यतालिका ल्याउने तयारीसमेत गरिएको बताइएको छ । महाधिवेशन केन्द्रित हुनुपर्ने निष्कर्षसहित दुवै पक्षबीच सहमति आवश्यक पर्ने धारणा व्यक्त गरिएको छ । देउवा पक्षले समानान्तर गतिविधि तीव्र बनाइरहेका बेला पार्टी एकता जोगाउने चुनौती थपिएको बताइन्छ ।
कांग्रेसभित्रको आन्तरिक विवाद बाहिर आउँदा आगामी राजनीतिक गतिविधि र संगठन सुदृढीकरणमा असर पर्ने विश्लेषण गरिएको छ ।
कांग्रेसभित्रको विवाद थप चर्किने संकेत
देउवा समूहको निर्णयले कांग्रेसभित्रको विवाद थप चर्किने संकेत देखिएको छ । पुस २७ देखि ३० गतेसम्म देउवा समूह र डा.कोइराला समूहको असहमतिका बाबजुद विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा कांग्रेसमा नयाँ समिति चयन भएको थियो । देउवा र कोइराला समूहले त्यसलाई नमान्ने भन्दै रिट लिएर सर्वोच्च अदालत गएका थिए । त्यो रिट विचाराधीन छ ।
निर्वाचन आयोगले भने थापाको नेतृत्वलाई पार्टीको आधिकारिकता दिइसकेको छ । थापाकै नेतृत्वमा चुनावमा गएको कांग्रेसले पराजय व्यहोरेको छ । शुक्रबारदेखि चुनावी समीक्षा गर्न थापा नेतृत्वको कांग्रेस केन्द्रीय कार्य समितिको बैठक बसेको बेला अर्को समूहले पनि केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेको हो ।