शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्रकरण : पूर्वसचिव अधिकारीसहित २३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सोमबार, चैत्र ९ २०८२

काठमाडौँ । राष्ट्रिय गौरवको आयोजना पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग जोडिएको ठूलो आर्थिक अनियमितताको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले दोस्रो भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले परामर्शदाता नियुक्तिमा अनियमितता भएको निष्कर्ष निकाल्दै आइतबार २१ जनालाई प्रतिवादी बनाउँदै विशेष अदालत मा मुद्दा दायर गरेको हो।

यसअघि पनि आयोगले लागत अनुमान (इस्टिमेट) प्रक्रियामा अनियमितता भएको आरोपमा पूर्वमन्त्री, पूर्वसचिवसहित ५५ जना तथा निर्माण कम्पनी चाइना सिएएमसी इन्जिनियरिङ र परामर्शदाता कम्पनीहरूलाई प्रतिवादी बनाएर पहिलो मुद्दा दायर गरिसकेको थियो।

दोस्रो मुद्दामा तत्कालीन सचिव केदारबहादुर अधिकारी, नेपाल नागरिक उड्डयन प्राधिकरण का पूर्वमहानिर्देशकहरू सञ्जीव गौतम, राजन पोखरेल र प्रदीप अधिकारीसहित विभिन्न उच्च अधिकारीहरूलाई प्रतिवादी बनाइएको छ।

आयोगका अनुसार विमानस्थल निर्माणका लागि परामर्शदाता नियुक्त गर्न २८ लाख अमेरिकी डलर छुट्याइएको भए पनि उक्त रकम प्रयोग नगरी आन्तरिक बजेटबाट ५० करोडभन्दा बढी लागत स्वीकृत गरी दोहोरो खर्च गरिएको थियो। साथै, सम्झौताविपरीत उपकरण खरिद, बढी भुक्तानी र रकम दुरुपयोगजस्ता कार्यबाट करिब ४६ करोड रुपैयाँ भ्रष्टाचार भएको ठहर गरिएको छ।

उक्त परियोजना चिनियाँ ऋण सहयोगमा चीनको एक्जिम बैंक मार्फत सञ्चालन गरिएको थियो।

आयोगले मुख्य प्रतिवादीहरूसँग जनही ४६ करोडभन्दा बढी बिगो माग गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कारबाहीको माग गरेको जनाएको छ। अन्य प्रतिवादीहरूलाई भने फरक–फरक बिगो निर्धारण गरिएको छ।