नेपाल उद्योग वाणिज्य महासंघको ६० औं वार्षिक साधारण सभा र नयाँ नेतृत्व चयनका लागि निर्वाचन आगामी २०८२ साल चैत २९ र ३० गते हुने भएको छ ।
महासंघको १५ औं कार्यकारिणी समितिको बैठकको निर्णयअनुसार निर्वाचनको कार्यतालिका र साधारण सभासम्बन्धी सूचना जारी गरिएको हो ।
महासंघका अनुसार चैत २९ गते आइतबार ललितपुरको ग्वार्कोस्थित होटल रोयल टुलिपमा साधारण सभाको समुद्घाटन हुनेछ ।
बन्द सत्र लगायतका कार्यक्रम सोही होटलमा हुनेछन् भने निर्वाचनसम्बन्धी कार्यक्रम चैत ३० गते सोमबार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने तय भएको छ ।
यस निर्वाचनबाट महासंघका उपाध्यक्षहरू र कार्यकारिणी समितिका सदस्यहरूको चयन हुनेछ । महासंघले निर्वाचनमा उम्मेदवारी दिन चाहनेहरूका लागि मनोनयन शुल्क पनि तोकेको छ ।
जसअनुसार उपाध्यक्ष पदको उम्मेदवार बन्न ३ लाख रुपैयाँ र कार्यकारिणी समिति सदस्य पदको उम्मेदवार बन्न १ लाख रुपैयाँ मनोनयन शुल्क लाग्नेछ ।
उम्मेदवारी फिर्ता लिएको खण्डमा उक्त मनोनयन शुल्क फिर्ता नहुने महासंघले स्पष्ट पारेको छ ।
उम्मेदवार मनोनयन गर्न इच्छुक सदस्य संघ/संस्थाहरूले आर्थिक वर्ष २०८२/८३ सम्मको वार्षिक सदस्यता शुल्क, प्रतिनिधि शुल्क र उम्मेदवारी शुल्कसहित मनोनयन पत्र चैत २२ गते साँझ ५ बजेभित्र महासंघको सचिवालय टेकुमा दर्ता गराइसक्नु पर्नेछ ।
इमेलबाट कागजात पठाउनेले चैत २६ गते साँझ ५ बजेभित्र सक्कल कागजात सचिवालयमा बुझाइसक्नु पर्नेछ, अन्यथा मनोनयन स्वतः बदर हुने सर्कुलरमा बताइएको छ ।
त्यस्तै साधारण सभामा भाग लिनका लागि प्रति व्यक्ति ४ हजार रुपैयाँ प्रतिनिधि शुल्क तोकिएको छ । एकपटक तोकिएको प्रतिनिधिसँगै शुल्क बुझाइसकेपछि पुनः प्रतिनिधिको नाम परिवर्तन गर्नु परेमा थप १ हजार रुपैयाँ लाग्नेछ ।