बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

नेविसंघको निर्णय अराजनीतिक र अवैधानिक, भूमिका अझ प्रभावकारी हुनुपर्छ : काँग्रेस

आइतबार, चैत्र ८ २०८२

काठमाडौँ  । नेपाली काँग्रेसका महामन्त्री  गुरुराज घिमिरेले नेपाल विद्यार्थी संघको ऐतिहासिक योगदानलाई कसैले पनि कम आँक्न नसक्ने बताएका छन् ।

आईतवार पार्टी कार्यालय सानेपामा नेविसंघले बुझाएको ज्ञापन पत्र ग्रहण गर्दै महामन्त्री घिमिरेले नेपालको इतिहासबाट नेविसंघलाई अलग पार्न खोजिए इतिहास अधुरो हुने भन्दै यसको योगदान विस्मृतिमा धकेल्न नसकिने स्पष्ट गरे। उनले वि.सं. २०२७ सालमा पञ्चायती कालमा विद्यार्थीलाई संगठित गरी प्रजातान्त्रिक आन्दोलन सुदृढ पार्ने र प्रजातन्त्रको पुनःस्थापना गर्ने उद्देश्यले नेविसंघको स्थापना भएको स्मरण गराए। कतिपय सन्दर्भमा नेविसंघले पार्टीभन्दा पनि बढी कुर्बानी र बलिदान दिएको उहाँले उल्लेख गरे ।

महामन्त्री घिमिरेले पछिल्लो समय नेविसंघका गतिविधि पार्टीले सुक्ष्म निगरानी गरिरहेको बताउँदै मुलुकमा नयाँ राजनीतिक परिस्थिति र निर्वाचनबाट उदाएका नयाँ दलहरूको सन्दर्भमा नेविसंघको भुमिका अझ सशक्त र प्रभावकारी हुन आवश्यक रहेको बताए। उनले ४० वर्ष मुनिका झन्डै १ करोड २० लाख युवा जनमतलाई पनि कुनैपनि दलले उपेक्षा गर्नु मूर्खता हुने उल्लेख गरे।

यस्तै, नेपाल तरुण दल, नेपाल महिला संघ लगायतका अन्य भ्रातृ संस्थाहरुमा पनि पार्टीले संस्थागत निर्णय गर्न तयारी भइरहेको जानकारी उनले दिए ।

आईतवार बिहान नेविसंघका कार्यकर्ताहरुको टोलीले सिनेट बैठकको नाममा अवैधानिक गतिविधि भइरहेको र वर्तमान नेतृत्वद्वारा सञ्चालित घटनाले संगठन तथा पार्टी दुवैको गरिमामा आँच पुगेको आरोप लगाउँदै ज्ञापन पत्र बुझाएको थियो। कार्यकर्ताहरुको ठहरअनुसार, गणपूरक संख्याको न्यूनतम उपस्थितिविना भएको बैठक अवैधानिक मानिने छ।

यता नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आफ्नो सांगठनिक संरचनामा आमूल परिवर्तन गर्दै ‘कार्यात्मक स्वायत्तता’ मा जाने निर्णय गरेको छ ।

सभापति दुजाङ शेर्पाले अब नेविसंघ नेपाली काँग्रेसको परम्परागत ‘भ्रातृ संगठन’ मात्र भएर नबस्ने बरु ‘शुभेच्छुक संगठन’ को रूपमा स्वायत्त ढंगले अघि बढ्ने घोषणा गरेका हुन् ।