बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै, थापाको राजीनामा अस्वीकृत गर्ने प्रस्तावमा के हाेला निर्णय ?

आइतबार, चैत्र ८ २०८२

काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्ने भएको छ। बैठक बिहान ८:३० बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा सञ्चालन हुने जानकारी कावा मुख्य सचिव कृष्णप्रसाद दुलालले दिएका छन् ।

शुक्रवारदेखि विश्वप्रकाश शर्माको सभापतित्वमा सुरु भएको बैठकमा हालै सम्पन्न निर्वाचनको प्रारम्भिक समीक्षा प्रस्तुत गरिएको थियो। साथै, सभापति गगन थापाले दिएको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पनि बैठकमा पेश गरिएको थियो।

बैठकमा धारणा राख्ने अधिकांश सदस्यहरूले सभापति थापाको राजीनामा स्वीकार गर्न नहुने र चुनावी हारको सम्पूर्ण जिम्मेवारी सभापतिमाथि मात्रै नआउने बताएका छन्।

आजको बैठकले यसअघि प्रस्तुत गरिएका प्रस्तावहरू पारित गर्ने तयारी रहेको बताइएको छ।

थापाले प्रतिनिधिसभा निर्वाचनमा अपेक्षाअनुसार नतिजा आउन नसकेपछि नैतिक जिम्मेवारी लिँदै राजीनामा दिएका थिए। उनले उक्त राजीनामा फागुन २१ गते विश्वप्रकाश शर्मामार्फत बुझाएका हुन् ।

तर, शुक्रबार सानेपास्थित केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकमा सहभागी अधिकांश नेताहरूले उक्त राजीनामा स्वीकृत गर्न नहुने पक्षमा स्पष्ट धारणा राखेका छन्। नेताहरूले अहिलेको चुनौतीपूर्ण अवस्थामा नेतृत्वले जिम्मेवारीबाट पन्छिन नहुने भन्दै पार्टीलाई पुनर्जीवित गर्न वर्तमान नेतृत्वकै निरन्तरता आवश्यक रहेको बताएका छन्।

उनीहरूले गगन थापाकै नेतृत्वमा पार्टीलाई सुधार गर्दै अघि बढाउनुपर्नेमा जोड दिएका छन्।

यसैबीच, राजीनामा औपचारिक रूपमा अस्वीकृत गर्ने निर्णय भने आज बिहान बस्ने केन्द्रीय समिति बैठकले गर्ने तयारी गरिएको छ। यद्यपि, राजीनामाबारे आधिकारिक निर्णय नभएसम्म सभापति थापा बैठकमा उपस्थित नहुने जनाइएको छ।

शुक्रबारको बैठकमा सभापति थापाको राजीनामाको विषयलाई लिएर लामो र गम्भीर छलफल भएको थियो । बैठकमा सहभागी केन्द्रीय सदस्य मधु आचार्यले सञ्चारकर्मीहरूलाई दिएको जानकारीअनुसार केन्द्रीय समितिका सबै सदस्यहरू सभापतिको राजीनामाको विपक्षमा उभिएका छन् । सबैले एकमतले अहिलेको अवस्थामा नेतृत्व परिवर्तनभन्दा पनि पार्टीको कमी कमजोरी सुधार्नमा लाग्नुपर्ने कुरामा जोड दिएका छन् ।
गत फागुन २१ गते सम्पन्न निर्वाचनमा कांग्रेस जम्मा ३८ सिटसहित दोस्रो ठूलो दलको रूपमा खुम्चिएको थियो । यो नतिजालाई पार्टीले सहज रूपमा स्वीकार गर्दै अब जनताको मन जित्ने गरी नयाँ शिराबाट काम थाल्ने संकल्प समेत गरेको थियाे ।