काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइराला को १६औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ।
चार पटक प्रधानमन्त्री भएका कोइरालाको २०६६ चैत ७ गते निमोनियाका कारण निधन भएको थियो। नेपालमा माओवादी जनयुद्ध अन्त्य गरी शान्ति स्थापनामा उनले महत्वपूर्ण भूमिका खेलेको बताइन्छ।
विसं २०५९ असोज १८ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले जननिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई अपदस्थ गरेपछि उत्पन्न राजनीतिक सङ्कटमा कोइरालाले आन्दोलनको नेतृत्व गरेका थिए ।
त्यसैगरी विसं २०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले दलमाथि प्रतिबन्ध लगाउँदै शासन सम्हालेपछि कोइरालाले सबै राजनीतिक दललाई एकताबद्ध गर्दै पूर्ण लोकतन्त्रको स्थापनाका लागि आन्दोलन अघि बढाएका थिए ।
उनकै नेतृत्वमा भएको आन्दोलनपछि विसं २०६३ वैशाख ११ गते विघटित प्रतिनिधिसभा पुनःस्थापना भएको थियो, जसलाई नेपाली ‘म्याग्नाकार्टा’का रूपमा समेत लिइन्छ। आन्दोलन सफल भएपछि उनी चौथोपटक प्रधानमन्त्री बनेका थिए ।
कोइरालाकै नेतृत्वमा माओवादी जनसेनाको समायोजन तथा हतियार व्यवस्थापन भएको थियो। साथै उनकै नेतृत्वमा २०६४ चैत २८ गते संविधानसभा निर्वाचन सम्पन्न भई बहुदलीय प्रतिस्पर्धात्मक राजनीतिमा माओवादीको सहभागिता सुनिश्चित भएको थियो।
राजा ज्ञानेन्द्र निलम्बनमा परेपछि कोइरालाले कार्यवाहक राष्ट्राध्यक्षको भूमिका पनि निर्वाह गर्नुभएको थियो। उहाँकै नेतृत्वमा २०६५ जेठ १५ गते २४० वर्ष पुरानो शाहवंशीय राजसंस्थाको अन्त्य भई नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रमा परिणत भएको थियो।
नेपालमा शान्ति प्रक्रिया र लोकतान्त्रिक परिवर्तनमा उहाँले पुर्याउनुभएको योगदानको स्मरण गर्दै नेपाली कांग्रेस लगायत विभिन्न संघसंस्थाले आज विविध कार्यक्रम गरी स्मृति दिवस मनाइरहेका छन्।