काठमाडौँ । देशभरका मुस्लिम समुदायले आज ईद उल फित्र पर्व विशेष नमाज पाठ गरी तथा ठूलाबडाबाट आशीर्वाद लिएर मनाइरहेको बताएका छन्।
अरबी पात्रो हिजरी संवतअनुसार नवौँ महिनाभर निराहार व्रत (रोजा) बसेपछि यो पर्व मनाइने गरिएको हो। नमाजपछि तीन दिनसम्म आफन्त तथा ठूलाबडाकहाँ गएर आशीर्वाद लिने र सानालाई आशीर्वाद दिने परम्परा रहेको बताइएको छ।
यस अवसरमा सेवई, खजुरलगायत मिठा परिकार बनाएर पाहुनालाई खुवाउने चलन रहेको छ। साथै दीन दुःखी र गरीबलाई दान बाँड्ने भएकाले यस पर्वलाई विशेष महत्वका साथ मनाइने गरिएको बताइन्छ।
मुस्लिम धर्मावलम्बी एवं अब्दुल सतार ले अरबी पात्रोअनुसार नवौँ महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि ईद उल फित्र मनाउने निर्णय हुने जानकारी दिए।
शनिबार बिहान काठमाडौँको नेपाली जामे मस्जिद घन्टाघर मा विशेष नमाज पाठ गरिएको र त्यसपछि आशीर्वाद आदानप्रदानको क्रम सुरु भएको जनाइएको छ। देशभरका मस्जिद तथा इदगाहमा पनि विशेष कार्यक्रम आयोजना गरिएको छ।
यस पर्वमा मुस्लिम धर्मावलम्बीले आफ्नो बचतको साढे दुई प्रतिशत दान गर्ने प्रचलन रहेको छ, जसलाई जकात भनिन्छ। त्यस्तै प्रत्येक व्यक्तिले गहुँ वा सो बराबरको नगद दान गर्ने परम्परा (सदक़ा फित्र) पनि रहेको बताइएको छ।
एक महिनासम्म सूर्योदयदेखि सूर्यास्तसम्म रोजा बसेर आत्मशुद्धि गर्ने परम्परापछि ईद मनाइने गरिएको हो। यस अवसरमा मुस्लिम समुदायले नयाँ कपडा लगाएर एकअर्कामा शुभकामना आदानप्रदान गर्ने गरेका छन्।
ईद उल फित्रका अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको गृह मन्त्रालय ले जनाएको छ।