बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

निर्वाचनमा प्रतिमतदाता औसत खर्च २८४ रुपैयाँ

शुक्रबार, चैत्र ६ २०८२

काठमाडौँ । निर्वाचन आयोग नेपाल ले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रतिमतदाता औसत रु २८४ खर्च भएको जनाएको छ ।

आयोगले समग्र प्रतिवेदन रामचन्द्र पौडेल समक्ष पेश गरेपछि आयोजित पत्रकार सम्मेलनमा सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचन खर्च मितव्ययी बनाउन पहिल्यै खरिद गरिएका सामग्री पुनः प्रयोग गर्ने नीति अपनाइएको जानकारी दिएका छन्।

निर्वाचन सामग्री खरिद प्रक्रिया सरकार स्वामित्वका संस्थासँग सम्झौता गरी अघि बढाइएको थियो। पचास प्रकारका सामग्रीमध्ये ३७ प्रकार प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयमार्फत खरिद गरिएको थियो भने बाँकी १३ प्रकार आयोगले केन्द्रबाट खरिद गरी जिल्लामा ढुवानी गरेको थियो।

निर्वाचनका लागि आयोगले रु ७ अर्ब ८१ करोडभन्दा बढी बजेट माग गरेकोमा अर्थ मन्त्रालयबाट रु ६ अर्ब ७६ करोड ६६ लाख ९० हजारको स्रोत सहमति प्राप्त भएको थियो। हालसम्म रु ३ अर्ब ५४ करोडभन्दा बढी खर्च भइसकेको छ भने केही दायित्वबापतको भुक्तानी अझै बाँकी रहेको आयोगले स्पष्ट पारेको छ।

निर्वाचनमा स्वदेशी तथा विदेशी पर्यवेक्षणको व्यवस्था मिलाइएको थियो। अन्तरराष्ट्रियतर्फ २२ कूटनीतिक नियोगका १६४ प्रतिनिधि र तीन अन्तरराष्ट्रिय गैरसरकारी संस्थाका प्रतिनिधि सहभागी भएका थिए भने राष्ट्रियतर्फ ३५ गैरसरकारी संस्थाले पर्यवेक्षण गरेका थिए।

आयोगले लोकतान्त्रिक अभ्यासमा सहभागी भई मताधिकार प्रयोग गर्ने सम्पूर्ण मतदाताप्रति आभार व्यक्त गर्दै निर्वाचन सफल बनाउन योगदान दिने नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, सुरक्षाकर्मी, कर्मचारी, राजनीतिक दल, उम्मेदवार, सञ्चारमाध्यम तथा अन्तरराष्ट्रिय समुदायप्रति धन्यवाद ज्ञापन गरेको छ।