काठमाडौँ । संघीय संसद सचिवालय ले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित सांसदहरूलाई शपथग्रहणमा अनिवार्य रूपमा उपस्थित हुन सार्वजनिक सूचना जारी गरेको छ ।
सूचनाअनुसार नवनिर्वाचित सांसदहरूको शपथ चैत १२ गते बिहीबार दिउँसो २ बजे सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय सभाकक्षमा हुनेछ ।
शपथका लागि निर्वाचन आयोग नेपाल बाट प्राप्त प्रतिनिधिसभा सदस्य पदको प्रमाणपत्रको सक्कल र प्रतिलिपि, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि तथा हालसालै खिचिएको पासपोर्ट साइजको दुई प्रति फोटो अनिवार्य रूपमा साथमा ल्याउनुपर्ने जनाइएको छ ।
सांसदहरूले नेपाली भाषाबाहेक आफ्नो मातृभाषामा समेत शपथ लिन सक्ने व्यवस्था गरिएको छ । त्यसका लागि प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को अनुसूची–३ अनुसारको शपथको ढाँचा सम्बन्धित भाषामा अनुवाद गरी शपथ कार्यक्रमभन्दा कम्तीमा तीन दिनअघि सचिवालयमा बुझाउनुपर्ने सूचनामा उल्लेख गरिएको छ ।
