काठमाडौँ । गगनकुमार थापाले नेपाली कांग्रेसको सभापति पदबाट राजीनामा दिएका छन्। प्रतिनिधिसभा निर्वाचनमा आएको अप्रत्याशित र कमजोर नतिजापछि नैतिक जिम्मेवारी लिँदै उनले पद त्याग गर्ने निर्णय गरेका हुन्।
पार्टीभित्रकै केही नेताहरूको दबाब र सुझावपछि उनले उपसभापति विश्वप्रकाश शर्मा समक्ष राजीनामा बुझाएका हुन्। यद्यपि, उक्त राजीनामा औपचारिक रूपमा सार्वजनिक भइसकेको छैन।
सहमहामन्त्री प्रकाश रसाइलीका अनुसार थापाले निर्वाचन परिणामको सम्पूर्ण जिम्मेवारी स्वीकार गर्दै पदबाट अलग हुने निर्णय लिएका हुन्। यसबारे भोलि थप छलफल हुने बताइएको छ।
थापा पुस २७ देखि ३० गतेसम्म काठमाडौँ स्थित भृकुटीमण्डपमा सम्पन्न कांग्रेसको विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका थिए। तर, उनी स्वयं पनि सर्लाही–४ बाट प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका थिए।
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले अपेक्षाभन्दा निकै कमजोर प्रदर्शन गर्दै प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० गरी जम्मा ३८ सिट मात्र जित्न सफल भयो। यसले पार्टीलाई इतिहासकै कमजोर प्रतिपक्षी बन्ने अवस्थामा पुर्याएको छ।
‘बदलियो कांग्रेस, बदल्छौँ देश’ भन्ने नाराले मतदातालाई आकर्षित गर्न सकेन। परिणामस्वरूप सभापति थापासहित शीर्ष तहका धेरै नेताहरू नै चुनावमा पराजित भए। पार्टीलाई पहिलो शक्ति बनाउने लक्ष्यसहित नेतृत्व सम्हालेका थापाको कार्यशैली र रणनीतिमाथि अहिले गम्भीर प्रश्न उठ्न थालेका छन्।
निर्वाचनपछि पार्टीभित्र आरोप–प्रत्यारोप चर्किएको छ। चुनावी समीक्षा गर्न चैत ६ गते ललितपुरस्थित बीपी स्मृति भवनमा केन्द्रीय कार्यसमिति बैठक बोलाइएको छ, जहाँ आगामी रणनीति र संगठन पुनर्गठनबारे छलफल हुने बताइएको छ।
यसैबीच, देउवा पक्षका नेता कृष्णप्रसाद सिटौला, जीतजंग बस्नेत र मीनबहादुर विश्वकर्मा लगायतले विशेष महाधिवेशनको वैधानिकतामाथि प्रश्न उठाउँदै आएका छन्। उनीहरूले उक्त प्रक्रिया पार्टी विधानविपरीत भएको दाबी गरेका छन्।
त्यस्तै, शेरबहादुर देउवा र डा. शेखर कोइराला पक्ष पनि विशेष महाधिवेशनबाट आएको नेतृत्वप्रति असन्तुष्ट देखिएका छन्। उनीहरू उक्त नेतृत्वलाई मान्यता दिन तयार छैनन्।
आलोचकहरूका अनुसार प्रक्रियागत सहमति विना हतारमा महाधिवेशन गरिँदा पार्टीभित्र संस्थागत संकट गहिरिएको छ। एकता मजबुत हुनुको सट्टा गुटबन्दी र अविश्वास बढ्दै गएको विश्लेषण गरिएको छ।
कमजोर निर्वाचन परिणाम र बढ्दो आन्तरिक विवादका कारण कांग्रेस अहिले गम्भीर राजनीतिक संकटको घेरामा परेको छ।