काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटा ले कमजोरी स्वीकार गर्नुको सट्टा अरूलाई दोष लगाउँदै ‘खाँबो चिथोर्ने’ प्रवृत्ति आवश्यक नरहेको टिप्पणी गरेका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चुनाव जितेको उल्लेख गर्दै सरकार सञ्चालन गर्ने जिम्मेवारी पनि उनीहरुकै भएको बताएका छन्।
उनले नयाँ सरकारले काम सुरु गरेको तीन महिनासम्म अन्य पक्षले आलोचना गर्नु उपयुक्त नहुने धारणा राख्दै जनताले यसपटक रास्वपालाई रोजेको र उनीहरूका वाचा पत्याएको बताएका छन्।
“जनता साझा थिए, छन् र रहनेछन्, फरक यति मात्र हो कि यसपटक आम जनताको रोजाइमा रास्वपा परेको हो,” उनले लेखेका छन्।
बास्कोटाले अनावश्यक आरोप–प्रत्यारोपमा लाग्नुको सट्टा काममा केन्द्रित हुन आग्रह गर्दै ‘खाँबो चिथोर्न बन्द गरे हुने’ बताएका छन्।