बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

इरान युद्धबारे असहमति व्यक्त गर्दै ट्रम्पका वरिष्ठ सहयाेगीले दिए राजीनामा

बुधबार, चैत्र ४ २०८२

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनमा आतङ्कवादविरोधी केन्द्रका निर्देशक जो केन्टले इरानसँगको युद्धबारे असहमति जनाउँदै आफ्नो पदबाट राजीनामा दिएका छन्।

केन्टले सामाजिक सञ्जालमार्फत जारी विज्ञप्तिमा राष्ट्रपति ट्रम्पलाई आफ्नो अडान परिवर्तन गर्न आग्रह गर्दै इरान अमेरिकाका लागि तत्काल खतरा नभएको उल्लेख गरेका छन्। उनले ट्रम्प प्रशासनले इजरायल र उसका प्रभावशाली अमेरिकी लबीको दबाबमा युद्ध सुरु गरेको दाबी पनि गर्नुभएको छ।

४५ वर्षीय केन्ट अमेरिकी विशेष बल र सीआईएमा लामो अनुभव भएका व्यक्ति हुन्। उनले स्वदेश तथा विदेशमा मातृभूमिको पक्षमा सेवा पु¥याउनुका साथै अमेरिकी नौसेनामा कार्यरत श्रीमती शैनन केन्टको २०१९ मा सिरियामा आत्मघाती आक्रमणमा मृत्यु भएको अनुभव पनि सार्वजनिक गरेका छन्।

आफ्नो पत्रमा उनले लेखेका छन्, “म अर्को पुस्तालाई युद्धमा लड्न र मर्न पठाउन समर्थन गर्न सक्दिन, जसले अमेरिकी जनताको हित गर्दैन र अमेरिकी जीवनको लागतलाई न्यायोचित ठहराउँदैन।” केन्टले यस युद्धका कारण अमेरिकालाई महत्वपूर्ण मानव जीवन र सम्पत्ति क्षति पुगेको समेत उल्लेख गरेका छन्।

यसअघि लामो समयदेखि ट्रम्पका समर्थक रहेका केन्ट गत वर्ष जुलाईदेखि अमेरिकी आतङ्कवादविरोधी केन्द्रको निर्देशक नियुक्त भएका थिए। यसअघि उनले इराक लगायत ११ पटक विदेशमा अमेरिकी सेनासँग तैनाथी भोगिसकेका छन्।

राष्ट्रपति ट्रम्पको प्रशासनमा यसअघि पनि धेरै वरिष्ठ अधिकारीहरूले राजीनामा दिएका छन्, जसमा सेक्युरिटिज र एक्सचेन्ज कमिशन प्रवर्तन निर्देशक मार्गरेट रायन र केनेडी सेन्टरका अध्यक्ष रिक ग्रेनेल रहेका छन्।