काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सांसदहरुका लागि सञ्चालन भइरहेको आवासीय अभिमुखीकरण कार्यक्रममा आज सभापति रवि लामिछानेले सम्बोधन गर्ने भएका छन्।
ललितपुरको ग्वार्कोस्थित होटेल रोयल टुलिपमा जारी कार्यक्रममा आज सभापतिको सम्बोधनको कार्यसूची तय गरिएको छ। मंगलबारदेखि सुरु भएको अभिमुखीकरणमा सभापति लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह सहभागी हुन सकेका थिएनन्।
आज कार्यक्रमको समापन सत्रमा भने सभापति लामिछाने र वरिष्ठ नेता शाह दुवै सहभागी हुने जनाइएको छ।
हिजोदेखि सुरु भएको अभिमुखीकरण तथा परिचयात्मक कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्याल ले जनताको आशा र विश्वास कायम राख्दै आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह गरेको बताएका थिए।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपसभापति अर्यालले देश र जनताको पक्षमा काम गर्न आवश्यक रहेको बताएका थिए। उनले नागरिकलाई महसुस हुने गरी काम गर्ने सरकार गठन गरेर भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्नुपर्ने आवश्यकता रहेको बताएका छन्। लामो समयदेखि देशको बागडोर सम्हालेका राजनीतिक दलका गलत क्रियाकलापका कारण अहिलेको परिणाम आएको उल्लेख गर्दै उनले यसले आफ्नो पार्टी र जननिर्वाचित प्रतिनिधिलाई अझ जिम्मेवार र जवाफदेही बनाएको बताएका छन्।
त्यस्तै, पार्टीका अर्का उपसभापति स्वर्णिम वाग्ले ले ४८ प्रतिशत मतसहित प्राप्त झन्डै दुई तिहाइ बहुमतको जनविश्वास जोगाउनुपर्नेमा जोड दिएका छन्। उनले वाचापत्रको मुख्य नारा ‘थिति बसाल्ने’ रहेको र त्यसलाई काम गरेरै देखाउनुपर्ने बताएका छन्। जनताले जिम्मेवारी दिएको उल्लेख गर्दै उनले त्यसलाई इमानदारीपूर्वक पूरा गर्नुपर्ने बताएका छन्।
वि.सं. २०१५ सालपछिको ठूलो जनादेशलाई शिरोधार्य गर्दै विधायकको भूमिका प्रभावकारी रूपमा निर्वाह गर्नुपर्ने उल्लेख गर्दै उपसभापति वाग्लेले जनताका गुनासा र मुद्दा उठाउन तथा आफ्नै सरकारले गरेका गलत कामको पनि प्रतिरोध गर्न आग्रह गरेका छन्।
संसदीय अभ्यास, विधायिकी प्रक्रिया, नीति निर्माण तथा संसदीय समितिहरूको भूमिकाबारे जानकारी गराउने उद्देश्यले उक्त अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको पार्टीका महामन्त्री कबिन्द्र बुर्लाकोटी ले जानकारी दिएका छन्।