काठमाडौं । रवि लामिछाने विरुद्धको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधसम्बन्धी मुद्दा फिर्ता गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालत मा जारी सुनुवाइ आज पनि नसकिएपछि ‘हेर्दाहेर्दै’मा राखिएको छ। अब उक्त मुद्दामा मंगलबार पुनः सुनुवाइ हुने भएको छ।
न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेल को संयुक्त इजलासमा आइतबारदेखि बहस सुरु भएको थियो। सोमबार पनि सुनुवाइ निष्कर्षमा नपुगेपछि मुद्दा ‘हेर्दाहेर्दै’मा सारिएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइराला ले जानकारी दिए।
यसअघि न्यायाधीशद्वय सपना प्रधान मल्ल र श्रीकान्त पौडेल को इजलासले उक्त रिटलाई नियमित सुनुवाइका लागि चैत १ गते पेश गर्न आदेश दिएको थियो।
महान्यायाधिवक्ता सविता भण्डारी बराल ले लामिछानेविरुद्ध अघिल्लो सरकारको पालामा दर्ता गरिएका सम्पत्ति शुद्धीकरण तथा सङ्गठित अपराधका मुद्दा फिर्ता गर्ने निर्णय गरेकी थिइन्। सो निर्णयविरुद्ध युवराज पौडेल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता आभास रेग्मी ले सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट निवेदन दायर गरेका थिए।