काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन्। तर उनले ‘संघर्षको राजनीति’ भने जारी रहने बताएका छन् ।
राउतले सामाजिक सञ्जालमा लेखेका छन्, “संसदीय राजनीतिबाट टाढा रहने, तर यसको मतलब राजनीतिबाट गायब भएको होइन। पार्टीलाई आवश्यकता रहेसम्म नेतृत्व दिँदै अगाडि बढाउनेछु। राजनीतिक रूपमा सक्रिय रहँदै, आफ्नो सिद्धान्त र एजेण्डालाई निरन्तर अगाडि बढाउँदै, जनताको लागि निरन्तर संघर्ष गर्नेछु। जनताको सेवामा रहिरहने नै छु।”
सिके राउत नेतृत्वको जनमत पार्टी २०७९ सालको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनबाट उदाएको दल हो। त्यतिबेला पार्टी राष्ट्रिय दलको दर्जा पाएको थियो। अध्यक्ष राउत स्वयं प्रत्यक्षतर्फ चुनाव जितेका थिए भने समानुपातिकतर्फ थ्रेसहोल्ड हटाएपछि पार्टीले पाँच सिट पाएको थियो।
तर, २०८२ फागुन २१ गते सम्पन्न निर्वाचनमा जनमत पार्टीले प्रत्यक्षतर्फ एक सिट पनि जित्न सकेन। सप्तरी–२ बाट प्रतिस्पर्धा गरेका राउत रास्वपाका रामजी यादवसँग पराजित भए। समानुपातिकतर्फ पनि थ्रेसहोल्ड कटेन।
अध्यक्ष राउतले अब संसदीय राजनीतिबाट टाढा रहने भए पनि पार्टीलाई आगामी स्थानीय र प्रदेश निर्वाचनका लागि तयारी गराउन प्रतिबद्ध रहेको बताएका छन्। उनले लेखेका छन्, “जनमत पार्टीलाई आउँदो निर्वाचनका लागि तयारी गराउन म प्रतिबद्ध छु।”