बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

निर्णय सच्याएर उदारता देखाउन प्रधानमन्त्री कार्कीलाई सांसद सागर ढकालको आग्रह

सोमबार, चैत्र २ २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सागर ढकाल ले प्रधानमन्त्री सुशीला कार्की लाई आफ्ना स्वकीय सचिव आदर्श श्रेष्ठ लाई राष्ट्रिय प्रकृति संरक्षण कोष को कार्यकारी प्रमुख पदमा नियुक्त गर्ने निर्णय सच्याउन आग्रह गरेका छन्।

उक्त निर्णयको चौतर्फी आलोचना भइरहेका बेला ढकालले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री कार्कीलाई निर्णय सच्याएर उदारता देखाउन आग्रह गरेका हुन्।

ढकालले फेसबुकमा लेखेका छन्, “आमा, जतिसुकै ठूलो महामानव भए पनि गल्ती हुन्छन्। हजुरले देशलाई ठूलो निकास दिनुभएको छ, त्यसका लागि हृदयदेखि सम्मान छ। जाँदाजाँदै हिजो गरेका निर्णयमा भएको गल्ती सच्याउनु हुनेछ भन्ने आशा गरेका छौँ। न कुनै विज्ञता, न अनुभव— मात्र प्रधानमन्त्रीको स्वकीय सचिव भएकै आधारमा प्रकृति संरक्षण कोष जस्तो जिम्मेवार निकाय सुम्पिन मिल्छ र ?”

उनले भविष्यमा बन्ने सरकारले विज्ञ व्यक्तिलाई नियुक्त गर्न खोज्दा पनि यस्ता नजिरले समस्या निम्त्याउन सक्ने उल्लेख गरेका छन्। “हामीलाई अब नातावाद र कृपावादको अन्त्य गर्नुपर्छ। आशा छ, हजुरले निर्णय सच्याएर उदारता देखाउनुहुनेछ,” ढकालले लेखेका छन्।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले आदर्श श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यकारी प्रमुखमा नियुक्त गर्ने तथा गृहमन्त्री ओमप्रकाश अर्याल लाई राष्ट्रियसभा सदस्यमा मनोनीत गर्न सिफारिस गर्ने निर्णय गरेको थियो।