बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

समानुपातिकतर्फ ६ दलले बुझाए सांसदका नाम

सोमबार, चैत्र २ २०८२

काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको अन्तिम नतिजा आएपछि राजनीतिक दलहरूले आफ्ना सांसदहरूको नाम टुंगो लगाएका छन्। निर्वाचन आयोग ले तोकेको समयसीमाभित्र आइतबार सबै ६ दलले समानुपातिक सांसदका नाम बुझाएका हुन्।

समानुपातिक निर्वाचन प्रणालीमा देशभर दलहरूले पाएको मतका आधारमा सिट बाँडफाँट गरिन्छ। यस पटकको निर्वाचनमा कुल सदर मतको तीन प्रतिशत थ्रेसहोल्ड कटाएका ६ वटा दलले मात्रै समानुपातिक सिट प्राप्त गरेका छन्। आयोगले बिहीबार सिट बाँडफाँट गरेपछि तीन दिनभित्र नाम पठाउन दलहरूलाई पत्राचार गरेको थियो।

यस पटक समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सबैभन्दा धेरै ५७ सिट जित्दै संसद्मा सबैभन्दा ठूलो दल बनेको छ। त्यसपछि नेपाली कांग्रेस ले २० सिट, नेकपा एमाले ले १६ सिट प्राप्त गरेका छन्। यस्तै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले ९ सिट, श्रम संस्कृति पार्टी ले ४ सिट र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ४ सिट पाएका छन्। यसरी कुल ११० जना समानुपातिक सांसदको नाम आयोगमा दर्ता गरिएको छ।

कांग्रेस र एमालेले टुंग्याए आफ्ना सांसद

नेपाली कांग्रेसले आफ्नो भागमा परेका २० सिटमध्ये १५ महिला र पाँच पुरुष गरी सांसद चयन गरेको छ। सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले समावेशी व्यवस्थाअनुसार आदिवासी जनजाति र खस आर्य समुदायबाट ६–६ जना, दलित र मधेसीबाट ३–३ जना तथा मुस्लिम र थारू समुदायबाट एक–एक जनालाई चयन गरेको हो। कांग्रेसका प्रवक्ता देवराज चालिसेले समावेशी मापदण्ड पूर्णरूपमा पालना गरिएको बताए ।

नेकपा एमाले ले पनि १६ जना सांसदको नाम आयोगमा पठाएको छ। पार्टीका उपमहासचिव लेखराज भट्ट ले विभिन्न समावेशी समूहबाट प्रतिनिधित्व हुनेगरी नाम चयन गरिएको जानकारी दिनुभयो। बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओली का बुवाको निधनप्रति समवेदना व्यक्त गर्नुका साथै कास्कीका नेता कृष्ण थापा र नेता खगेन्द्र राई प्रति श्रद्धाञ्जलि पनि अर्पण गरेको छ।

नेकपा र श्रम संस्कृति पार्टीले पनि टुंग्याए नाम

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले ९ सिटमा उम्मेदवारको नाम टुंगो लगाएको छ। पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपाल ले अन्तिम सूची तयार पारेका हुन्।

पहिलोपटक संसद्मा प्रवेश गर्न लागेको श्रम संस्कृति पार्टी ले चार जना सांसद चयन गरेको छ। पार्टीका नेता हर्क साम्पाङ को नेतृत्वमा रहेको उक्त दलले ३ लाख ८५ हजार ९०२ मत पाएर चार सिट हासिल गरेको हो। उम्मेदवार चयनमा पार्टीभित्र केही विवाद देखिए पनि अन्ततः चार जनाको नाम आयोगमा पठाइएको छ।

राप्रपाले पनि टुंग्यायो चार सांसद

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि चार जना सांसदको नाम चयन गरेको छ। धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादन समितिको बैठकले समावेशी प्रतिनिधित्व मिल्ने गरी नाम टुंगो लगाएको जनाएको छ।

यससँगै समानुपातिक प्रणालीतर्फका सबै सांसदहरूको नाम आयोगमा पुगेको छ भने आयोगले चाँडै आधिकारिक सूची सार्वजनिक गर्ने तयारी गरेको छ।