काठमाडौं । सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रियसभा सदस्यमा मनोनीत गर्न रामचन्द्र पौडेल समक्ष सिफारिश गर्ने निर्णय गरेको छ।
आइतबार बालुवाटार मा बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई राष्ट्रियसभा सदस्यमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिश गर्ने निर्णय गरेको हो। राष्ट्रियसभामा सरकारको सिफारिशमा राष्ट्रपतिले मनोनीत गर्ने एक सिट हाल रिक्त रहेको छ।
संवैधानिक व्यवस्थाअनुसार राष्ट्रियसभामा प्रत्येक दुई वर्षमा १९ सदस्यको पदावधि सकिन्छ। तीमध्ये १८ जना निर्वाचनबाट चयन हुन्छन् भने एक जनालाई सरकारको सिफारिशमा राष्ट्रपतिले मनोनीत गर्ने व्यवस्था छ।
अन्तरिम सरकारमा गृहमन्त्रीको जिम्मेवारी सम्हालिरहेका अर्याल राष्ट्रियसभा सदस्यका रूपमा नियुक्त भएमा उनको कार्यकाल ६ वर्ष हुनेछ। उनी हाल सरकारका प्रवक्तासमेत हुन्।
यसअघि राष्ट्रपतिबाट मनोनीत वामदेव गौतम को कार्यकाल सकिएसँगै राष्ट्रियसभामा एक सदस्यको पद रिक्त भएको थियो। सोही स्थानमा गुल्मीका अर्याललाई नियुक्त गर्न सरकारले सिफारिश गरेको हो।
यसैबीच, राष्ट्रिय प्रकृति संरक्षण कोष को अध्यक्षमा आदर्शकुमार श्रेष्ठ मनोनीत भएका छन्। सुशीला कार्की ले कोषका संरक्षकको हैसियतमा श्रेष्ठलाई आगामी पाँच वर्षका लागि उक्त पदमा मनोनयन गर्नुभएको हो। श्रेष्ठ प्रधानमन्त्री कार्कीका प्रमुख स्वकीय सचिवसमेत हुन्।