काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विरुद्धको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधसम्बन्धी मुद्दा फिर्ता गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमा आज सर्वोच्च अदालत मा सुनुवाइ हुँदैछ।
आइतबार उक्त मुद्दा हेर्न नभ्याइएपछि अदालतले ‘हेर्दाहेर्दै’मा राख्दै आजका लागि सुनुवाइ तोकेको थियो। न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेल को संयुक्त इजलासले आइतबार मुद्दालाई हेर्दाहेर्दैमा राखेको हो।
यसअघि सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र श्रीकान्त पौडेल को संयुक्त इजलासले उक्त निवेदनलाई नियमित सुनुवाइका लागि आइतबार पेस गर्न आदेश दिएको थियो।
सविता भण्डारी बराल ले महान्यायाधिवक्ताको हैसियतमा अघिल्लो सरकारको पालामा लामिछानेविरुद्ध लगाइएका सम्पत्ति शुद्धीकरण तथा सङ्गठित अपराधसम्बन्धी मुद्दा फिर्ता गर्ने निर्णय गरेकी थिइन्।
उक्त निर्णयविरुद्ध युवराज पौडेल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता आभास रेग्मी ले सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट निवेदन दायर गरेका हुन्।