सुनसरी । हरिनगर गाउँपालिका–१ मा गए राति सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय २५ वर्षीय दीपक दास रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिए ।
घटनामा भुटहाबाट हरिनगरतर्फ गइरहेको प्रदेश०१–०२–०५७प ४८९९ नम्बरको मोटरसाइकललाई उखु बोकेको स१ज ४९१४ नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो। ठक्करबाट दीपक दास र मिथुन दास गम्भीर घाइते भएका थिए।
प्रहरी निरीक्षक ओलीका अनुसार गम्भीर घाइते दीपक दासको उपचारका क्रममा मृत्यु भएको छ भने अर्का घाइते मिथुन दासको विराटनगर मा उपचार भइरहेको छ।
घटनाबारे अनुसन्धान भइरहेको छ। दुर्घटनामा संलग्न ट्याक्टर अहिले प्रहरीले नियन्त्रणमा लिइसकेको छ भने चालक फरार रहेकोले खोजी कार्य जारी छ।