म्याग्दी । २२.५ मेगावाट क्षमताको अपर ठूलोखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय प्रसारण प्रणालीमा जोडिएको छ।
रघुगङ्गा गाउँपालिका–७ मा ठूलोखोला हाइड्रोपावर लिमिटेड ले निर्माण गरेको उक्त आयोजनाको भौतिक संरचना निर्माण, उपकरण जडान र आन्तरिक परीक्षण पूरा भएपछि विद्युत् केन्द्रीय ‘लाइन’मा जोडिएको हो। आयोजनाका प्रमुख शिवसागर यादवका अनुसार गत फागुन २९ गते साँझ ६ बजेदेखि परीक्षणका लागि केन्द्रीय प्रणालीमा विद्युत् पठाउन थालिएको थियो।
उनले नेपाल विद्युत् प्राधिकरण को प्राविधिक टोलीको उपस्थितिमा पाँच दिनसम्म गरिएको परीक्षण सफल भएपछि केन्द्रीय प्रणालीमा विद्युत् जोडिएको जानकारी दिए । परीक्षण सफल भएपछि करिब १५ दिनभित्र व्यावसायिक उत्पादन सुरु हुने जनाइएको छ।
हाल सुक्खायामका कारण आयोजनाबाट १३.८६ मेगावाट विद्युत् उत्पादन भइरहेको आयोजना प्रमुख यादवले बताए । बाँध, विद्युत्गृह, पाइपलाइन, प्रसारण लाइन र उपकरण जडानसहित आन्तरिक परीक्षण पूरा भएपछि परीक्षण उत्पादन सुरु गरिएको हो।
वि.सं. २०८० मा निर्माण सुरु गरिएको यो आयोजना भौगोलिक रूपमा विकट क्षेत्रमा अवस्थित छ। सुगुरथलामा बाँध, डिसेन्डर (पानी थिग्राउने पोखरी), दुई हजार ९०० मिटर मुख्य पाइपलाइन र ३०० मिटर सर्च साफ्ट पाइपलाइन जडान गरिएको छ भने फेदीमा विद्युत्गृह निर्माण गरिएको छ। विद्युत्गृहमा दुईवटा टर्वाइन युनिट र स्वीचयार्ड निर्माण गरिएको इन्जिनियर सञ्जीव न्यौपाने ले जानकारी दिए ।
यो आयोजना ‘रन अफ द रिभर’ प्रकृतिको हो। फेदीदेखि बन्दीसम्म १४ वटा टावर निर्माण गरी छ किलोमिटर लामो १३२ केभी क्षमताको प्रसारण लाइन बनाइएको छ। बन्दीदेखि ठूलोखोला र चिमखोलादेखि चिमखोला–मङ्गले–राहुघाट जलविद्युत् आयोजनासँग सहकार्य गर्दै तिल्केनीचौर हुँदै २२० केभी क्षमताको दाना–खुर्कोट प्रसारण लाइनमार्फत आयोजनाको विद्युत् केन्द्रीय प्रणालीमा आबद्ध गरिएको छ। फेदीदेखि तिल्केनीचौरसम्म प्रसारण लाइनको दूरी २३.५ किलोमिटर रहेको छ।
करिब रु पाँच अर्ब १४ करोड लागत अनुमान गरिएको आयोजनामा सिटिजन्स बैंक, माछापुच्छ्रे बैंक र कृषि विकास बैंक ले ७० प्रतिशत ऋण लगानी गरेका छन्। प्रवर्द्धकको १० प्रतिशत लगानी रहने र बाँकी २० प्रतिशत सेयर सर्वसाधारणलाई जारी गरेर जुटाइने जनाइएको छ।
यसअघि राहुघाट र सहायक नदीहरूमा तीन जलविद्युत् आयोजना निर्माण भइसकेका छन्। तुँदी पावर कम्पनी ले प्रवर्द्धन गरेको ३५.५ मेगावाट क्षमताको चिमखोला–राहुघाट–मङ्गले तथा त्यसको क्यासकेडका रूपमा ४८.५ मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत् आयोजना सञ्चालनमा छन्।
राहुघाटको सहायक ठूलोखोलामा संयुक्त ऊर्जा लिमिटेडले निर्माण गरेको २१.३ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजनाले गत भदौदेखि व्यावसायिक उत्पादन सुरु गरिसकेको छ। साथै रघुगङ्गा हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ।