भैरहवा । सिद्धार्थनगर क्षेत्रका बजारमा खाना पकाउने एलपी ग्यासको अभाव देखिएको भन्दै उपभोक्ताले चिन्ता व्यक्त गरेका छन्। ग्यास आयातमा कमी नभएको जनाइए पनि बजारमा भने उपभोक्ताले सहज रूपमा ग्यास पाउन नसकेको बताएका छन्।
स्थानीय उपभोक्ताका अनुसार एउटा ग्यास सिलिण्डरका लागि दिनभरि पसल–पसल धाउनुपर्ने अवस्था सिर्जना भएको छ। ग्यास विक्रेताले समेत मौज्दात सकिएको भन्दै उपभोक्तालाई फर्काइदिने गरेका छन् भने विक्रेताका डिपोहरूमा ग्यास सिलिण्डर लिन उपभोक्ताको लामो लाइन लागेको छ।
लामो समयसम्म पालो कुर्दा पनि खाना पकाउने एलपी ग्यास पाउन नसकेको स्थानीय प्रदीप ज्ञवालीले बताए। नियमित रूपमा भान्सा चलाउनसमेत ग्यास नपाउने अवस्था आउँदा दैनिक जीवन कष्टकर बन्दै गएको उनको भनाइ छ।
ग्यास विक्रेताले कम्पनीबाट पर्याप्त ग्यास उपलब्ध नभएकाले बजारमा अभाव देखिएको बताएका छन्। मागअनुसार आपूर्ति हुन नसक्दा उपभोक्तालाई ग्यास उपलब्ध गराउन समस्या भएको उनीहरूको भनाइ छ।
यद्यपि भैरहवा भन्सार कार्यालय का अनुसार भने ग्यास आयात नियमित रूपमा भइरहेको छ। कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेल ले केही दिन निर्वाचनका कारण आयातमा सामान्य समस्या देखिए पनि अहिले अवस्था सामान्य भइसकेको बताउनुभयो। उहाँका अनुसार दैनिक रूपमा ग्यास बोकेका बुलेट ट्याङ्कर नाकाबाट नेपाल भित्रिने क्रम जारी छ।
स्थानीय विक्रेताका अनुसार पछिल्लो समय उपभोक्ताले सम्भावित अभावको आशङ्कामा आवश्यकभन्दा बढी ग्यास मौज्दात राख्न थालेपछि बजारमा अभाव देखिएको हो। पहिले दैनिक सीमित सङ्ख्यामा बिक्री हुने ग्यास सिलिण्डर अहिले केही घण्टामै सकिने गरेको उनीहरू बताउँछन्।
सीमावर्ती क्षेत्रमा भने नेपालबाट भारततर्फ ग्यास सिलिण्डर लैजाने प्रयाससमेत बढेको पाइएको छ। भारतीय बजारमा ग्यासको मूल्य बढी हुनुका साथै अभाव देखिएकाले सीमावर्ती क्षेत्रबाट ग्यास सिलिण्डर भारततर्फ तस्करी हुने गरेको स्थानीय बासिन्दाले बताएका छन्।
जिल्ला प्रहरी कार्यालय रूपन्देही का प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्द ले सीमाबाट ग्यासको अवैध ओसारपसार हुन सक्ने सम्भावनालाई ध्यानमा राखेर निगरानी कडा पारिएको जानकारी दिए। उनका अनुसार सीमावर्ती क्षेत्रमा जाँचलाई कडाइ गरिएको छ।
यसैबीच, इलाका प्रहरी कार्यालय बेलहिया ले भारततर्फ लैजाँदै गरेको तथा भारतबाट नेपालतर्फ ल्याइँदै गरेको केही ग्यास सिलिण्डर नियन्त्रणमा लिएको जनाएको छ। प्रहरीले सीमामा निगरानी बढाइएको र अवैध ओसारपसार रोक्न आवश्यक कदम चालिएको बताएको छ।