बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

वर्षासँगै काठमाडौँ उपत्यकाको वायु प्रदूषण घट्यो

शुक्रबार, फाल्गुन २९ २०८२

काठमाडौं। केही दिनयता काठमाडौँ उपत्यका र प्रमुख शहरमा वायु प्रदूषण घट्न थालेको छ। बिहीबार मध्याह्नसम्म वायु गुणस्तर सूचकाङ्क (AQI) १७८ रहेकोमा आज मध्याह्नसम्म १४९ मा झरेको एयर क्वालिटी इन्डेक्स (AQI) को तथ्याङ्कले देखाएको छ।

साथै, बिहीबारसम्म काठमाडौँ विश्वकै दोस्रो प्रदूषित शहरको सूचीमा रहेको थियो भने आज सोही समयमा बाह्रौँ स्थानमा झरेको छ। केही दिनयता मौसम धुम्मिँदै गएपछि वायु प्रदूषण बढेको थियो।

वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले वर्षाका कारण वायु प्रदूषण घटेको जानकारी दिए। उनका अनुसार, “वर्षाले हावामा रहेका धुलो र कण जमिनमा झार्न मद्दत गर्छ र हावा धुलो तथा प्रदूषणका कण उठाएर लैजाँदा प्रदूषण कम हुन्छ। हामीले दिगो र वातावरणमैत्री विकासका उपाय प्रभावकारी रूपमा कार्यान्वयन गर्न सम्बन्धित निकायलाई सुझाव दिएका छौँ।”

वातावरणविद् भुषण तुलाधर ले समयमै पूर्वतयारी, पातपतिङ्गर व्यवस्थापन, डढेलो नियन्त्रण, सवारी साधनको धुवाँ परीक्षण र मापदण्डको कडाइ आवश्यक रहेको सुझाव दिए ।

जल तथा मौसम विज्ञान विभागका मौसमविद् सञ्जिव अधिकारीले पनि बिहीबारदेखि मौसममा सुधार आएर वर्षाले वायुमा रहेको प्रदूषण हटाउन मद्दत गरेको बताए। विगत २४ घण्टामा सबैभन्दा धेरै वर्षा वाग्मती प्रदेशको चितवन नारायणी फिल्ड कार्यालयमा १२६.२ मि.मि., गण्डकी प्रदेशको लमजुङ घरेढुङ्गा १०२.२ मि.मि., गोरखाको बारपाक ९० मि.मि., कोशी प्रदेशको उदयपुर कटारी ९८.४ मि.मि., र झापाको चन्द्रगढी विमानस्थलमा ९६.४ मि.मि. मापन भएको छ।

एक्युआइको मापदण्डअनुसार ०–५० सम्म ‘राम्रो’, ५१–१०० ‘सचेत रहनुपर्ने’, १०१–१५० ‘अस्वस्थ’ (विशेषगरी श्वासप्रश्वास र मुटु रोगी प्रभावित), १५१–२०० ‘सबैका लागि अस्वस्थ’, २०१–३०० ‘धेरै अस्वस्थ’ र ३०० भन्दा माथि ‘अत्यन्त खतरनाक’ मानिन्छ।